ताप्लेजुङ। नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। विशेष सुरक्षा सुविधासहितको नयाँ नोटबारे बैंकले सूचना जारी गर्दै प्रचलनमा आएको जानकारी दिएको हो।
साबिककै आकार र रङमा रहेको नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त…’ भन्ने प्रतिज्ञामूलक वाक्यांश समावेश गरिएको छ।
नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। मध्यभागमा नेपालको चुच्चेनक्सा र अशोक स्तम्भ छ।
दृष्टिविहीनले छामेर पहिचान गर्न मिल्ने गरी अशोक स्तम्भ नजिकै उठेको कालो थोप्ला राखिएको छ।
बायाँतर्फको अण्डाकार भागमा सिल्भर मेटालिकमा मायादेवीको चित्र छ।
सुरक्षाको लागि नोटमा २ मिमी चौडाइको रंग परिवर्तन हुने सुरक्षा धागो प्रयोग गरिएको छ, जसलाई सीधै हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत छ भने तल्लो भागमा ‘वि.सं. २०८१’ अंकित छ।








