२६ श्रावण, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप प्रतियोगितामा भारतले हार बेहोरेको छ । सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडी ललितपुरको चर्च ब्वाइज क्लबसँग १–० गोल अन्तरले हार बेहोरेको हो।

जित सँगै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको छ । खेलको सुरुवाती १०औं मिनेटमा नै चर्च ब्वाइजका मनिष जर्घाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उक्त गोल नै चर्च ब्वाइजका लागि जित सावित हुन पुग्यो । भारतका खेलाडी प्रितम वैद्यले पहिलो हाफको ४४ औं मिनेटमा रेड कार्ड प्राप्त गरी खेलबाट बाहिरिएका थिए। यसपछि भारत १० खेलाडीमा सीमित भएको थियो ।

यस्तै खेलको ‘म्यानअफ दि म्याच’ चर्च ब्वाइजका गोल किपर विश्वास चौधरी भएका छन् । चौधरीले नगद सात हजार रुपियाँ प्राप्त गरे । यो सँगै बुधबार हुने पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइजले सुनसरीसँग भिड्दै छ ।

शनिबारबाट सुरु भएको खेलमा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेडस्टार फुटबल क्लबले विजयी सुरुवात गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

भोलि हुने क्वाटर फाइनलको अन्तिम खेलमा सिरहाको सलहेश युवा क्लब र फिदिम स्पोर्टिङ क्लब पाँचथर आमनेसामने हुँदैछ । प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुँदैछ ।

गोल्डकपको विजेताले सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बाइक र विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीले समेत नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!