२३ श्रावण, ताप्लेजुङ, ।भोलिबाट सुरु हुने ‘तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप ‘को सम्पूर्ण तयारी पुरा भएको छ। आयोजक लाखेजात्रा सञ्चालन समितिले प्रतियोगिता स्थल भानु जन माविमा पत्रकार सम्मेलन गर्दै शुक्रबार सो जानकारी गराएको हो।
शनिबार प्रतियोगिताको उद्घाटन विशेष आकर्षणका साथ गरिने लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले बताउनुभएको छ। उहाँका अनुसार स्थानीय जातीय संस्कृतिमा आधारित प्रस्तुतिहरू धान नाच,लाखे नाचसँगै हिमाली समुदायहरूले शुभकार्यमा प्रस्तुत गर्दै आएको सिङ्गी नृत्यसमेत यस वर्षको आकर्षण रहेको छ।
उक्त नृत्य प्रस्तुत गर्नका लागि १० जना अतिथि दार्जिलिङबाट आउने आयोजकले बताएको छ।
प्रतियोगिताको लोगो यसवर्ष भानुजन माविका विद्यार्थीहरूले बनाउनेछन् । सो प्रयोजनका लागि ३५० विद्यार्थीहरू मैदान उतार्ने बताइएको छ।
प्रतियोगिता यो वर्ष पनि भाषण रहित हुनेछ ११ बजेबाट उद्घाटन कार्यक्रम सञ्चालन गरेर दिउँसो २:३० मा खेल सञ्चालन गरिने अध्यक्ष मादेनले बताउनुभयो।
प्रतियोगिता स्थल वरपर सिसी क्यामेरा तैनाथ गरिएको सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभएको छ। उहाँका अनुसार प्रतियोगिता स्थल वरपर मदिरा बेच्न समेत बन्देज गरिएको छ।खेल अवलोकन गर्न आउने दर्शकहरूले टिकट काटेबापत प्रत्येक दिन लट्रीमा सहभागी हुन पाउनेछन् । लट्रीमा सहभागी भाग्यशाली एक विजेतालाई स्मार्टफोन प्रदान गरिने आयोजकले बताएको छ।
भोलि उद्घाटन खेलमा आयोजक ताप्लेजुङ – ११ तेल्लोक स्पोडिङ क्लबले सुनसरीको द यङ ब्रदर्स क्लबसँग खेल्दैछ ।
यस वर्षको प्रतियोगितामा फिफा रेफ्री श्याम दनुवारको नेतृत्वमा चार सदसीय रेफ्रीको टोली जिल्ला बाहिरबाट आउनेछ भने जिल्ला भित्रका चार रेफ्री रहने बताइएको छ ।







