ताप्लेजुङ – आइएमई लाईफ इन्स्योरेन्सले आफ्नो ७ औँ वार्षिक उत्सवको अवसरमा लत्ताकपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार खेजेनिम माध्यमिक विद्यालयमा एक कार्यक्रमका बिच फक्ताङलुङ गाउँपालिका – २, खेजेनिमका विद्यार्थीहरुलाई उक्त सामग्री प्रदान गरिएको ताप्लेजुङका कार्यलय प्रमुख सूर्य गुरुङले जानकारी दिनुभयो । उहाँको अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत बाढी पहिरोबाट पूर्ण रुपमा प्रभावित विद्यार्थीहरुलाई शैक्षिक सामग्री,लत्ताकपडा वितरण साथै बिमा सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ । खेजेनिम स्थित सिबु, तिङ्दो लगायतका १६ जना बालबलिकालाई उक्त सामग्री हस्तान्तरण गरिएको छ ।
मनसुन सुरु भएदेखि खेजेनिम बाढी पहिरोको चपेटामा परेको थियो । गत जेठ ३२ गते राती अविरल वर्षा संगै आएको पहिरोमा परी गाउँपालिका उपाध्यक्ष रबिन लिम्बुका परिवारको ४ जनाको मृत्यु हुनुका साथै ७ घर परिवार पूर्ण विस्थापित र ५ घर परिवारमा आंशिक क्षति गरी १२ घर परिवार प्रभावित बनेका थिए । कार्यक्रममा वडा नं. २ का अध्यक्ष भूपेन्द्र चौलागाई, ताप्लेजुङ शाखा प्रमुख गुरुङ, एजेन्सी मेनेजरहरु तेन्जीङ शेर्पा,सुमन शेर्पा,बिना लिम्बु,गंगा राई, खेजेनिम माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमार लिम्बु, प्रधानाध्यापक सञ्जय सुब्बा, टोल बिकास समितिका अध्यक्ष नरेन्द्र लिम्बु लगायत स्थानीयको समेत उपस्थिती रहेको गुरुङले जानकारी दिनुभएको छ ।







