ताप्लेजुङ – मुक्कुम्लुङ संरक्षणका लागि ताप्लेजुङको फुङलिङमा जनप्रदर्शनको आयोजना गरिएको छ ।
शुक्रबार बिभिन्न ७ ओटा संस्थाले प्रेस विज्ञप्ती जारी गर्दै आगामी माघ १५ गते मुक्कुम्लुङ संरक्षणका लागि ताप्लेजुङको सदरमुकाम फुङलिङ जनप्रदर्शनको आयोजना गरिएको हो । पबित्र तिर्थस्थल पाथीभरामा निर्माणको प्रक्रियामा रहेको केबलकार खारेजीको माग गर्दै ताप्लेजुङमा पछिल्लो समयमा आन्दोलन थप शसक्त हुदै गईरहेको छ । याक्थुङ लिम्बु समुदायको मुन्धुमी, साँस्कृतिक, आध्यात्मिक, पवित्र स्थलमा व्यापारीकरण गर्न केबलकार निर्माण गर्ने कार्यलाई सरकारले समेत सहयोग गरेको कुरा उल्लेख गर्दै वन फडानी गर्ने र त्यहाँको वातावरण तथा पर्यावरण सखाप बनाउने कार्यको बिरोध गर्दै आईरहेको विज्ञप्तीमार्फत अवगत गराएका छन् ।
मुक्कुलम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी, प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) मुल समिति, किराँत याक्थुङ चुम्लुङ संघिय समिति, पहिचान सहितको प्रदेश नं.१ प्रदेश पुन नमाङ्कन अभियान समिति, किराँथ धर्म तथा साहित्य उत्थान संघ, मुक्कुम्लुङ तान्सेप चुम्भो, किराँत राई यायोक्खाले संयुक्त रुपमा हस्ताक्षर गर्दै प्रेश विज्ञप्ती जारी गरेका हुन् ।
केबलकार निर्माणकर्ताले जिल्लाबासीहरुमा द्वन्द र भिडन्तको समेत स्थिति सर्जिना गरेको विज्ञप्तीमार्फत नै आरोप लगाएका छन् । विज्ञप्तीमा कुनैपनि बहानामा राज्य तथा गैरराज्य पक्षले आफुमाथि थप उपनिवेश कायम गर्ने यस्ता कारबाहीको विरुद्धमा रहेको र उपनिवेशकारी काम कारबाही अब आफुहरुले नसहने चेतावनी पनि दिएका छन् । आफ्नो पहिचान र अस्तित्वको लागि जीवन मरणको संघर्ष गर्न पनि तयार रहेको र सम्पुर्ण गतिविधिहरु रोक्न सरकारको प्रमुख दायित्व भएको समेत अवगत गराएका छन् ।
असन्तुष्ट तथा आन्दोलनरत पक्षसँग छलफल, समन्वय तथा सहजीकरणका लागि पाथीभरा क्षेत्र बिकास समितिको बुधबार बसेको बैठकले जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा ९ सदस्यीय वाता टोलि समेत गठन गरेको छ । आफुहरु वार्ताको विरोधी नभएको तर वार्ताको नाममा चलखेल गर्ने र केबलकार निर्माणको प्रक्रियालाई बढाईरहने हो भने वार्ताको समेत औचित्य नहुनेप्रति पनि ध्यानाकर्षण गराएका छन् ।







