देवराज गुरुङ,पुस १९ गते । जिल्लाको फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले तालिमको सिकेको सिपको प्रमाणपत्र सिरानी थन्क्याएर नबस्न अनुरोध गरेका छन् । फुङलिङ नगरपालिका–१० फुरुम्बुमा विहिबार आयोजित अल्लो प्रशोधन तथा कपडा बुनाई सिप विकास तालिमको समापनगर्दै नगरप्रमूख मादेनले सिकेको सिप व्यवहारमा लागू गर्न अनुरोध गरेका हुन् । नगरप्रमूख मादेनले थपे,‘तालिमको प्रमाणपत्र सिरानीमा राखेर नबस्नुहोला । नगरपालिकाले अनुगमन गर्छ ।’ नगरपालिकाको लगानी र सहभागीको समय खर्च भएकाले उद्यम सुरु गर्न आवश्यक छ । नगरप्रमूख मादेनले भने,‘ तालिम दियौ । अब उद्यम सुरु गरौ । स्थानिय सरकार सयहोग गर्न तयार छ ।’ जंगलमा कुहिएर खेर जाने अल्लोबाट धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्नु नगरपालिकाको गौरव हो । जिल्ला समन्वय समिति उपप्रमूख कृष्ण लिङखिमले अल्लो नामी र दामी भएकाले उद्यमको रुपमा अगाडी बढाउनुपर्ने धारणा व्यक्त गरे ।
घरेलु तथा साना उद्योग महासँघ जिल्ला अध्यक्ष राजेन्द्र भारतीले भने,‘खेती नै नगरी अल्लो पर्याप्त छ । तर उत्पादन गरेर आम्दानी गर्न चुकेको छौ ।’ उद्यमी उत्पादन गरेर अड्याउनका लागि महासँघ प्रतिबद्ध रहेको अध्यक्ष भारतीले बताए । महासँघले जिल्ला,प्रदेश र सँघसम्म आयोजना हुने कार्यक्रममा जिल्लाको उत्पादनको मार्केटिङ गर्ने गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमूख यूवराज घोसाईका अनुसार सामुदायिक तथा सरकारी वन क्षेत्रमा अल्लो पाइने भएकाले सम्बन्धित निकायसँग समन्वय गरेर अगाडी बढ्न सुझाव दिए । कार्यालय प्रमूखले घोसाईले भने,‘उद्यमी मिलेर उद्योग दर्ता गरौ । सरकारी मान्यता प्राप्त गरेसँगै बजेट र तालिम दिन सहज हुन्छ ।’ अल्लोको गुणस्तरीय कपडा उत्पादन गर्न सके बजार अभाव छैन् । डिभिजन वन कार्यालय प्रमूख बद्री प्रसाश शाहका अनुसार सरकारी तथा सामुदायिक वनमा पाइने अल्लो संकलन गर्न सके राज्य र उद्यमीलाई लाभ पुग्छ । कार्यालय प्रमूख शाहले भने,‘कानुन बमोजिम अल्लो संकलन गर्न सक्छौ । सहकार्य गर्न तयार छौ ।’ पाथीभरा आधारभुत विद्यालयका प्रअ डम्बर बहादुर थापाले गाउँमा पाइने अल्लोले बल्ल मुल्य पाउने आशा व्यक्त गरे ।
हिमाली संरक्षण मञ्च (ज्ऋँ) का अध्यक्ष चन्द्रमणि लिम्बुले भने सिकेको सिप व्यवहारमा उतानुपर्ने सुझाव दिए । अध्यक्ष लिम्बूले भने,‘सिप सिक्न मरिहत्ते गर्छौ । तर सिकेको सिप व्यवहारमा लागू गर्न चुक्छौ । आशा छ,अब त्यो हुन्न ।’ सहभागीमध्ये चन्द्र कुमारी लिम्बुले भनिन्,‘धागो काट्न र बुन्न हामी सक्षम छौ । भविष्यमा गुणस्तरीय मेसिन पाउने आश गरेका छौ ।’ सहभागीले अल्लोमा बुटिक भर्ने,लोगो लगाउने र नाम लेख्ने किसिमको तालिम आश गरेका छन् । लिम्बुले थपिन्,‘हामीमा धेरै लगानी छ । मेसिनमा उत्तिकै लगानी छ । त्यहीभएर मेसिनको अपेक्षा गरेका छौ ।’ प्रशिक्षक आशा आङवुहाङ लिम्बूले आफूले जानेजत्तिकै सिप सहभागीलाई सिकाइएको बताए । लिम्बुले भनिन्,‘तालिममै कपडा पनि तयार गर्यौ । सहभागीहरु पनि उत्साही छन् ।’ तालिमसँगै अब बजारीकरणको लागि सहयोग हुनुपर्ने खाँचो औल्याइएको छ ।
हिमाली संरक्षण मंञ्चका कार्यकारी निर्देशक रमेश राईका अनुसार तालिममा सहभागीलाई आउँदो वर्ष तालिम तथा मेसिन उपलब्ध गराउने योजना छ । अल्लोको नर्सरी तयार गर्ने,तान वनाउने तथा वितरण गर्ने र बजार व्यवस्थापन लगायत कार्यक्रम छ । जिल्लाको अन्य स्थानिय तहबाट पनि तालिमको माग आएको राईले बताए । झोला,टोपी,गलबन्दि,रुमाल र विभिन्न सामाग्री उत्पादन गर्ने संस्थाले योजना बनाएको छ । कार्यक्रमका अध्यक्ष तथा फुङलिङ नगरपालिका–१० फुरुम्बुका वडाअध्यक्ष सन्तोष लिम्बुले वडावासीले लिएको सिप अनुसारको उद्यम गर्न सहयोग गर्ने वचन दिए ।

फुरुम्बुमा दुई महिने (असोज २५–पुस १९) अल्लो प्रशोधन तथा कपडा बुनाई सिप विकास तालिम आयोजना गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र फुङलिङ नगरपालिका र हिमाली संरक्षण मंञ्चको समन्वयमा तालिम संञ्चालन गरेको हो । तालिममा १६ जनाको सहभागीता थियो । तालिममा बोईलिङ मेसिन (पकाउने भाडा),विटिङ मेसिन (कुट्ने मेसिन),रुवा बनाउने हेकल मेसिन र चर्खा उपलब्ध गराएको छ । हिमाली संरक्षण मञ्चको १३ लाख ५६ हजार,फुङलिङ नगरपालिकाको २ लाख र घरेलु तथा साना उद्योग कार्यालयबाट १ लाख ५२ हजार रुपैयाँ लगानी रहेको छ ।











