ताप्लेजुङ – प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता गरेका छन् ।
मंगलबारबाट लागु हुने गरी अनिश्चितकालका लागि घोषणा गरिएको मेची राजमार्ग बन्द र फुङलिङ बजार बन्द आज बिहीबारबाट फिर्ता भएको छ । बुधबार संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका आन्दोलनरत पक्षका युवाद्वय बिपिन कंलिबा र आनन्द कंलिबा बिना सर्त सहित रिहा भएपछि आन्दोलन फिर्ता लिइएको जनाएको छ । गत मंसिर १० गते आन्दोलनमा संलग्न भएकामध्ये कंलिबाद्वयलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धानलाई अघि बढाएपछि तत्काल रिहाईको माग गर्दै संघर्ष समितिले आन्दोलनको घोषणा गरेको थियो ।
‘दुई दिनको प्रभावकारी मेची राजमार्ग, तमोर करिडोर मुलघाट, लाबरबोटे मार्ग र सदरमुकाम फुङलिङ बन्दपछि २०८० मंसिर १३ गते रातिदेखि आन्दोलनरत संयुक्त संघर्ष समिति, जिल्ला प्रशासन, प्रहरी प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरुको सहमतिपछि पक्राउ परका योद्धाहरु रिहाइ भएपछि मेची राजमार्ग र सदरमुकाम बन्द फिर्ता लिएको यसै विज्ञप्ति मार्फंत सम्पुर्णमा जानकारी गराउँछौँ ।’ किराँत याक्थुङ चुम्लुङकाा अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पा, पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई र नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । नामाङ्कनको विषयलाई लिएर सुरु भएको आन्दोलन भने जारी नै रहने पनि विज्ञप्तीमार्फत जनाइएको छ ।
साम्प्रदायिक हिंसा फैलाउने प्रकारले गाली गरेको आरोप लगाउँदै ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य योगेश भट्टराई सहित ३ नेतालाले सार्वजनिक रुपमा माफी नमागेसम्म आन्दोलन थप शसक्त भएर जानेपनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।







