याङवरक गाउँपालिकाको आ.व.२०७८÷७९ को बजेट ४२ करोड २९ लाख ६८ हजार २ सय ९० रुपैयाँ रहेको छ । पालिकाको विहिबार सम्पन्न दशौ गाउँसभामा उपाध्यक्ष रनमाया गुरुङले आ.व.२०७८÷७९ को उक्त बजेट प्रस्तुत गरेकी हुन् । चालुतर्फ २७ करोड ४२ लाख १८ हजार १ सय ९० र पूँजीगततर्फ १४ करोड ८७ लाख ५० हजार १ सय रुपैयाँ उल्लेख छ । उपाध्यक्ष गुरुङले प्रस्ततु गरेको नीति तथा कार्यक्रम र बजेट आगामी गाउँसभा बैठकबाट पारित गर्ने भएको छ । गाउँपालिका अध्यक्ष केशर कुमार मेन्याङ्बोका अनुसार असार २१ गतेदेखि बस्ने गाउँसभाको बैठकले अन्तिम निर्णय गरेर पारित गरिनेछ ।
आगामी ७ महिनाभित्र प्रमूख प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने उल्लेख छ । गाउँपालिकामा ५ वर्षभित्र एक प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । सदरमुकामदेखि गाउँपालिकाको केन्द्रहुँदै चाक्सिबोटे–थुम्बेदिन तथा मेची राजमार्गको खहरे–गाउँपालिका सडक स्तरोन्नती गर्ने उल्लेख छ । गाउँपालिकाको केन्द्रमा १० शैप्याको अस्पताल निर्माणलाई प्राथमिकता दिएको छ । अस्पतालको डीपीआर सम्पन्न भएकाले बजेट विनियोजन गरेर आ.व.मै निर्माण चरणमा लगिने भएको छ । वडा नं. ४ डुम्रिसे र वडा नं. २ थेचम्बुको ओलकमा पक्की पुल निर्माण योजना छ । बैदेशिक रोजगारीबाट फर्किएकालाई बाख्रा तथा बंगुरपालन फर्मका लागि वजेट विनियोजन गरेको छ । गाईपालनमार्फत डेरी उद्योगलाई प्रवद्र्धनसहित गाई पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिएको छ ।
गाउँपालिकामा ‘एक वडा,एक हेलिप्याड’ अवधारणा ल्याएको छ । सडक र पूर्वाधारजन्य संरचनाको नियमित मर्मत तथा स्तरोन्नतीका लागि आयोजनको ३ प्रतिशत कन्टीजेन्सी रकम कोषमा जम्मा गरि खर्च गरिने भएको छ । यसैगरि हरेक आयोजनाको २ प्रतिशत कन्टिजेन्सी रकम कट्टागरि आयोजना व्यवस्थापनका लागि कार्यविधि बनाएर खर्च गर्ने उल्लेख छ । १५ लाख भन्दा बढि रकम लागतका आयोजनाको प्रतिस्पर्धाका लागि विद्युतीय प्रणाली अर्थात ई बिड लागु गर्ने भएको छ । टेन्डर आव्हान असोज महिनाभित्रमै गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । १५ लाख भन्दा कम आयोजनाका सामान खरिदमा समेत टेन्डर आव्हान अनिवार्य गरेको छ ।
‘हाम्रो गाउँपालिका,उज्यालो गाउँपालिका’ अन्तर्गत केन्द्रिय विद्युत प्रसारण लाइन जडानका लागि वडामार्फत कालो तार र मिटर बक्स अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकास्तरीय यातायात गुरुयोजना आगामी आर्थिक वर्षमामा समावेश गरेको छ । भुकम्प प्रतिरोधी भवन निर्माणका लागि चालु आ.व.मा ४० जना स्थानियलाई तालिम प्रदान गर्ने भएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि इन्टरनेट तथा विद्युतीय सामाग्री जडान गर्ने भएको छ । विद्यालयको अनुगमन गरि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ । गुणस्तरीय शिक्षाका लागि शैक्षिक पाश्र्वचित्र तथा १० वर्षे शैक्षिक गुरुयोजना निर्माण गर्ने भएको छ । सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीलाई मासिक १५ हजार उपलब्ध गराउने भएको छ । यसैगरि ‘एक वडा,एक खेल’ मैदान कार्यक्रम लागु गरेको छ । गाउँपालिका केन्द्रमा कर्भडहल निर्माणका लागि पहल गर्ने भएको छ ।
उपाध्यक्ष गुरुङले आ.व.२०७८÷७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुअघि चालु आ.व.२०७७÷७८ को नीति कार्यक्रमको समिक्षा प्रस्तुत गरे । आर्थिक विकासतर्फ प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत साना व्यवसायिक गाई पकेट कार्यक्रममा ७० वटा गाई प्रदान गरेको थियो । वडा नं. १ र ३ मा उक्त कार्यक्रम संञ्चालन गरेको थियो । विपन्न महिला लक्षित कार्यक्रममा आयआर्जनका लागि भेडा,बाख्रा,बोका तथा सुगुर वितरण गरेको थियो । गाउँघरमा उद्यमीको विकासका लागि चालु आ.व.मा ८० जनालाई उद्यमशिलता सम्बन्धि तालिम प्रदान गरेको छ ।
यसैगरि सामाजिक विकासतर्फ विद्यालयमा आधुनिक प्रविधिबाट शिक्षण गर्न विज्ञान प्रयोगशालाका लागि ६ लाख ५० हजार प्रदान गरेको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि विनियोजित ५० लाख रुपैयाँ कार्यान्वयन भएको छ ।
गाउँपालिकास्थित विद्यालयमा पुस्तकालाय स्थापना गर्न ३ लाख २५ हजारका दरले थेचम्बु मावि र नेपाल राष्ट्रिय आधारभुत विद्यालयलाई प्रदान गरेको छ । एसईई उर्तिण गरेर उच्च शिक्षामा प्राविधिक विषयमा अध्यन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको छ । स्वास्थ्य कार्यक्रमतर्फ आमा तथा शिशुको स्वास्थ्य सुरक्षालाई केन्द्रित गरेर कार्यक्रम संञ्चालन गरेको छ । सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममा स्वास्थ्य चौकीमा सुत्केरी भएका ७५ जना आमालाई पोषण तथा कोसेली कार्यक्रम संञ्चालन भएको छ । गाउँपालिकास्थित लैङ्गिक हिंसा कोषमा २ लाख रुपैयाँ विनियोजन गरेको छ ।
यसैबिच गाउँसभाको उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष केशर कुमार मेन्याङबोले ४ वर्षको अवधिमा गरेका कामको चर्चा गरे । अध्यक्ष मेन्याङबोले भने,“चुनावमा मत माग्ने क्रममा गरेका प्रतिबद्धता पुरा भए÷नभएको समिक्षा गरौ । तसर्थ एकपटक घोषणा पत्र हेरौ ।” विकासको प्रमूख पूर्वाधार सडक भएकाले आ.व.२०७४÷७५ मा ६२ प्रतिशतसम्म रकम सडकमा खर्चिएको अनुभव सुनाए । परिणाम स्वरुप पालिका क्षेत्रमा बाहै्र महिना सवारी साधन संञ्चालन तथा सवै वडामा सडक पहुँच पुगेको छ ।
शिक्षा,स्वास्थ्य,कृषि र पशुपालनमा सुधारका संकेत देखा परेको छ । बाँकी रहेका वडामा चालु आ.व.मा स्वास्थ्य चौकी भवन निर्माण गर्ने कार्यक्रम तय गरेको छ । गाउँपालिकाकास्थित वडा नं.३ वाहेक सवै वडामा केन्द्रिय प्रसारण लाइन जडान छ । वडा नं. ३ तिरीङेमा वडाअध्यक्षले केन्द्रिय प्रसारण लाइन जडान गर्ने योजना बनाएपनि बस्ती स्तरबाट फरक योजना माग भएकाले सम्भव नभएको बताए । अध्यक्ष मेन्याङवोले भने,“जनप्रतिनिधि र स्थानियको विकास निर्माण सम्बन्धि इच्छा फरक हुन्छ । त्यही भएर कतिपय योजना सम्पन्न गर्न समस्या बन्छ ।” गाउँसभामा वडा नं. १ वडाअध्यक्ष जीवन खिम्दिङले स्वागत मन्तव्य व्यक्त गरे ।







