तीन वर्गमा विभाजन गरेर सरकारले विभूषण दिने गरेको छ । मानपदवी, अलंकार र पदक । यसमध्ये मानपदवी महत्वपूर्ण हो, जुन धेरै वितरण हुने गरेको छ । ०७६ मा ६ सय ३३ मध्ये चार सय ५० वटा तथा ०७७ मा पाँच सय ९४ मध्ये चार सय ५२ मानपदवी दिने निर्णय भएको थियो । मानपदवी राष्ट्रपतिबाट सुशोभन गराइन्छ भने अलंकार र पदक सीधै गृह मन्त्रालयबाट दिने गरिन्छ ।
विभूषणमध्ये सबैभन्दा ठूलो नेपाल रत्न हो, जुन पछिल्लो दुई वर्ष कसैलाई दिइएको छैन । यो विभूषण बनाउन करिब २५ लाख खर्च हुने गृह मन्त्रालय स्रोत बताउँछ । यस्तो विभूषणको मध्यमणि आठवटा कोण हुने र प्रत्येक कोणमा पाँच–पाँचवटा हिरा जडान गरिन्छ । अष्टकोणको बीचमा सुनको रश्मि आकारका कोणहरू हुन्छन् । सुनको रश्मि आकारभित्र कमलको पात आकारका आठवटा रातो मीना, दुईवटा नीलो मीना हुन्छन् । यसको मध्यभागमा सुनबाट बनेको नेपालको नक्सा र सगरमाथा हुन्छ । माथिल्लो भागमा नेपाल रत्न तथा तल्लो भागमा ‘राष्ट्रोत्थानको बिन्दु राष्ट्रप्रेम’ लेखिएको हुन्छ । यसको माला चाँदीबाट बनेको ७५ सेन्टिमिटर लामो हुन्छ ।
त्यसपछिको ठूलो राष्ट्रगौरव मानपदवीको ८.५ सेन्टिमिटर व्यास हुन्छ । यसको अग्रभागमा चारवटा खड्गको आकार र चारवटा गोलाकारको बीचमा दुईवटा सुनका वृत्त हुन्छन् । प्रत्येक खड्कको बीचमा रातो मीना र प्रत्येक रातो मीनाको बाहिर सातवटा हिरा राखिन्छ । गोलाकारभित्र सुनबाट बनेको पाँच पत्रयुक्त फूलको आकार हुन्छ । फूलको बीचभागमा मीना हुन्छ । माथिल्लो भागमा राष्ट्रगौरव र तल्लो भागमा मातासमान मातृभूमि लेखिएको हुन्छ । त्यसको दायाँबायाँ सुनको बिन्दु हुन्छ । त्यसमा अझै सुनबाट बनेको पूर्णकलशको आकृतिसमेत राखिन्छ ।
राष्ट्रदीप मानपदवीमा पनि प्रशस्त सुन राखिन्छ । यसको मण्डपमा सुनबाट बनेको तीन पातयुक्त लालीगुराँस, प्रोलम्बिकामा सुनबाट बनेको आठवटा घेरा हुन्छन् भने पट्टा झुन्डिने ठाउँमा समेत सुनको हुक राखिन्छ ।
राष्ट्रदीप द्वितीयको मण्डपमा पनि सुनबाट बनेको तीन पातयुक्त लालीगुराँस हुन्छन् । यसमा हरियो मीनासमेत राखिन्छ । यसको पनि पट्टा झुन्डिने ठाउँमा सुन राखिएको हुन्छ । राष्ट्रदीप तृतीयमा कमलभित्र हरियो मीना र हरियो मीनाको बीचमा तीन पातयुक्त सुनबाट बनेको लालीगुराँस रहन्छ ।
राष्ट्रदीप चौथोको कमलपत्रभित्र पनि तीन पातयुक्त सुनबाट बनेको लालीगुराँस हुन्छ । यसमा सुनबाट बनेको नेपालको नक्सा र बलिरहेको दियो राखिएको हुन्छ । यसका साथै मीना र चाँदीको समेत प्रयोग हुन्छ । राष्ट्रदीप पञ्चममा भने चाँदीबाट बनेको लालीगुराँस हुन्छ । यसमा पनि सुनबाट बनेको नेपालको नक्सा र बलिरहेको दियो राखिन्छ ।
धेरै वितरण गरिने जनसेवाश्री मानपदवीमा पनि सुन राखिन्छ । जनसेवाश्री प्रथममा सुनबाट बनेको अष्टकोणयुक्त मण्डप हुन्छ । यस्तो मानपदवीमा प्रशस्तै मणिकहरू राखिन्छ । यसको प्रोलम्बिक पनि सुनबाट बनाइन्छ । जनसेवाश्री द्वितीयमा हिरा पनि जडान गरिन्छ । यसको मध्यभागमा सुनको पृष्ठभूमिमा सुनबाट बनेको नेपालको नक्सा र राष्ट्रिय झन्डा बनाइएको हुन्छ ।
जनसेवाश्री तृतीय र चतुर्थमा पनि मध्यभागमा सुनबाट बनेको नेपालको नक्सा र राष्ट्रिय झन्डा बनाइएको हुन्छ । जनसेवाश्री पञ्चमको मध्यभागमा भने चाँदीको पृष्ठभूमिमा नेपालको नक्सा र राष्ट्रिय झन्डा राखिन्छ । यसमा निर्माणमा रातो मीना पनि राखिन्छ । अलंकार र पदकमा चाँदी र पदकमा तामा प्रयोग हुन्छ । नयाँपत्रिका दैनिक







