काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच छलफल जारी छ । देउवा निवास बूढानीलकण्ठमा वर्तमान राजनीति परिस्थितिबारे छलफल भइरहको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।
ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन् ।
यस्तै काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखक लगायत सहभागी छन् । २७ बैशाखमा विश्वासको मत दिने तयारीमा रहेका ओलीले काँग्रेस नेतासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
माओवादी केन्द्रले बुधबार औपचारिक रुपमा सरकारबाट समर्थन फिर्ता लिएको छ भने ओलीविरुद्धको मोर्चाबन्दी पनि कसिलो बन्दै गएको छ ।काँग्रेस माओवादी र जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले ओलीविरुद्ध मोर्चा निर्माणको गृहकार्य गरिरहेको छ ।
एमाले कै खनाल नेपाल पक्षले पनि ओलीविरोधी खेमामा सामेल हुने संकेत देखाएको छ । जसकारण जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतोको साथ सहयोगबाट पनि ओलीले विश्वासको मत सिद्ध गर्न सक्ने अवस्था देखिएको छैन । यस्तो अवस्थामा ओलीले काँग्रेससँग छलफल गरिरहेका छन् । Ratopati







