यस पटक नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पीसीआर टेस्ट गर्नुहोला ।

यस पटक परिवारमा एक जना संक्रमित भए सबै संक्रमित हुने अवस्था छ । तसर्थ कुनै लक्षण देखिए आइसोलेसनमा बस्नुहोला । संक्रमणको शंका लागेमा तुरुन्त पीसीआर टेस्ट गर्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।

– पीसीआर पोजिटिभ आएमा गत साल जस्तो सप्लिमेन्ट (भिटामिन वा इम्युन बुस्टर) खाएर ढुक्क नहुनुहोला । यसपटक छिटो कोभिड निमोनिया हुने भएकाले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला । त्यहाँ चिकित्सकले तपाईंलाई परीक्षण गरेर आवश्यकताअनुसार छातीको एक्सरे, रगतको जाँच तथा सिटी स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाईंको अवस्था खराब छ भने उहाँहरूले औषधि वा भर्नाका लागि सल्लाह दिनुहुनेछ । उहाँहरूको सल्लाह अक्षरस पालना गर्नुहोला ।

– लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईंलाई छातीमा संक्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुनपर्ने एवं सजिलोसँग निको हुने अवस्था हुन्छ ।

– गत साल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्रमण हुन सक्छ । प्रजाति फरक भएकाले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबडीले काम गर्छ भनेर लापर्बाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।

– बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा नबस्नुहोला । यसपटक बालबालिका र युवाको संक्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गत सालको भन्दा धेरै छ ।

– अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नुभयो भने अक्सिजनको स्तर केही बढ्छ । तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला ।

-अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पतालबाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।

– चिकित्सकको सल्लाहबिना आफैँ अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार हैन । निमोनिया वा अन्य छातीको संक्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाहअनुसार मात्र थपघट गर्नुपर्छ ।

– औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुन सक्छ । एक जनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मीबाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला । कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।

-प्रतिरोध क्षमता बढाउन जथाभावी आयुर्वेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिस अनुसार मात्र आयुर्वेद औषधि सेवन गर्नुहोला । आयुर्वेद औषधिले कोभिड निको हुँदैन । तपाईंको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्धतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।

– यसपटकको संक्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४-६ घण्टामा निकै बढी असर गर्न सक्छ । तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका संक्रमितका कुरा सुन्नुहोला ।

– कुनै पनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुन सक्छ । यो भाइरल संक्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन । यस्तो अवस्थामा एकपटक छातीको एक्स–रे वा सिटी स्क्यान गर्नु सुरक्षित हुन्छ ।

– अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ । तसर्थ नआत्तिनुहोला ।

– उपचारपश्चात् पीसीआर नेगेटिभ आए पनि कोभिडले तपाईंका विभिन्न अंगमा असर गरेको हुन सक्छ । चिकित्सकको सल्लाहअनुसार यसको पनि उपचार गरेर स्वास्थ्यलाभ गर्नुपर्ने हुन्छ ।

(सरकारले जारी गरेका सूचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी संक्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापर्बाही नगर्नुहोला । हामीले आफू, परिवार तथा समाजलाई संक्रमण हुन् नदिन सतर्क बनौँ । सतर्क भएमा हामी अस्पताल जानु पर्दैन। )

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!