असोज १, ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा भदौ महिनामा दर्शन गर्ने तीर्थयात्रीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार भदौमा छ हजार १२३ जना तीर्थयात्रीले मन्दिरको दर्शन गरेका छन् ।
गत आर्थिक वर्षको भदौमा चार हजार ५०३ जना तीर्थयात्री पाथीभरा पुगेका थिए । यस वर्षको भदौमा गत वर्षको तुलनामा एक हजार ६२० जना बढी तीर्थयात्री पुगेका हुन् ।
तीर्थयात्रीको सङ्ख्या बढेसँगै मन्दिरमा सङ्कलन हुने भेटीसमेत बढेको छ । समितिले सार्वजनिक गरेको विवरणअनुसार भदौमा १३ लाख ६७ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । गत आर्थिक वर्षको सोही महिनामा नौ लाख ९७ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार मन्दिरमा दर्शनार्थीले चढाएको भेटी हरेक महिनाको मसान्तमा सार्वजनिक गर्ने गरिएको छ ।
चालु आर्थिक वर्षको साउनमा भने तीन लाख १८ हजार ५०० रुपियाँ भेटी सङ्कलन भएको थियो । गत आर्थिक वर्षको साउनमा १० लाख ३९ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो ।
पाथीभरा मन्दिरमा नगद भेटीबाहेक दर्शनार्थीले शैक्षिक सामग्री, सुनचाँदी, माना–पाथी, त्रिशूल, घण्टी, सिक्कालगायतका सामग्रीसमेत चढाउने गरेका छन् । यस्ता सामग्री नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी समितिले सुरक्षित भण्डारण गर्ने गरेको जनाएको छ ।
गत आर्थिक वर्षभरि दुई लाख ५२ हजार ७८ जना तीर्थयात्री पाथीभरा पुगेका थिए । सो अवधिमा मन्दिरमा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी सङ्कलन भएको समितिको तथ्याङ्क छ ।







