ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले विपद्का समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग गर्न छुट्टै आर्थिक सहायता सम्बन्धी कार्यविधि बनाउने निर्णय गरेको छ।

समितिको चालु आर्थिक वर्षको पहिलो बैठकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

तर समितिले विपद्का बेला राहत उपलब्ध गराउने विषयलाई तत्कालीन निर्णयमा मात्र सीमित नराखी आगामी दिनमा पनि व्यवस्थित र पारदर्शी ढंगले सहयोग गर्न कार्यविधि बनाउने निर्णय गरेको जनाएको छ।

कार्यविधिमा विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत, सामाजिक गतिविधिमा सहयोग, अनुदान, असहाय तथा अशक्त व्यक्तिलाई आर्थिक सहायता लगायतका विषय समेटिनेछन्। यस्तै मेला–महोत्सव तथा खेलकुदलगायतका कार्यक्रममा समितिले गर्ने सहयोगलाई समेत कार्यविधिमार्फत व्यवस्थित गरिने भएको छ।

समितिको यो निर्णयले पाथीभरा क्षेत्र विकास समितिलाई धार्मिक तथा पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी विपद् र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय बनाउने संकेत गरेको छ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म व्यक्ति तथा विभिन्न संघसंस्थाबाट ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार रुपैयाँभन्दा बढी सहयोग जम्मा भएको पछिल्लो विवरण सार्वजनिक भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!