ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपमा डिफेन्डिङ च्याम्पियन सलहेश युवा क्लब सिराहा सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको तेस्रो क्वाटरफाइनलमा सातदोबाटो फुटबल क्लब ललितपुरसँग निर्धारित समय १–१ गोलको बराबरी खेलेको सलहेशले ट्राइबेकरमा ४–३ गोल अन्तरले बाजी मार्दै अन्तिम चारमा स्थान बनाएको हो।
अब सेमिफाइनलमा सलहेशले भारतको जर्जियन युनाइटेड फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। जर्जियनले यसअघि आयोजक–११ ताप्लेजुङलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो।
शनिबार भएको दोस्रो क्वाटरफाइनलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरले चित्लाङ फुटबल क्लबलाई पनि ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ।
भदौ १९ गतेसम्म फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल प्रदान गरिनेछ भने विभिन्न विधाका उत्कृष्ट खेलाडी र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई समेत नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ।
यस्तै, टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनीको नयाँ स्कुटर उपहार पाउनेछन्।
अब ताप्लेजुङ गोल्डकपको सेमिफाइनल समीकरण थप रोमाञ्चक बनेको छ।







