ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरले चित्लाङ फुटबल क्लबलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो। ट्राइबेकरमा फिदिम स्पोर्टिङ क्लबले चित्लाङ फुटबल क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
यसअघि शुक्रबार भएको उद्घाटन खेलमा आयोजक–११ ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
प्रतियोगिताअन्तर्गत भोलि आइतबार तेस्रो क्वाटरफाइनल खेल हुँदैछ। आइतबारको खेलमा सातदोबाटो फुटबल क्लब ललितपुर र डिफेन्डिङ च्याम्पियन सलहेश फुटबल क्लब सिराहाबीच प्रतिस्पर्धा हुनेछ।
फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ।
लाखेजात्राको अवसरमा आयोजना हुँदै आएको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको हो। प्रतियोगिताको विजेताले नगद रु. ७ लाख २ हजार ८३ तथा उपविजेताले रु. ३ लाख ५२ हजार ८३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ। साथै विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै, प्रतियोगितामा टिकट काटेर खेल हेर्ने दर्शकमध्ये भाग्यशाली एक जनाले टीभीएस कम्पनीको नयाँ स्कुटर उपहार पाउने व्यवस्था गरिएको छ।







