ताप्लेजुङ। फक्ताङलुङ गाउँपालिका–६, लुङथुङस्थित श्री लुङथुङ आधारभूत विद्यालयमा निःशुल्क दन्त स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा विद्यालयका साना विद्यार्थीहरू सहित करिब २० जना स्थानीय बासिन्दाले दाँत तथा मुखसम्बन्धी जाँच तथा परामर्श सेवा प्राप्त गरेका छन्।
डा. शशांक ताम्राकारको नेतृत्वमा आएको दन्त स्वास्थ्य टोलीले स्थानीय समुदायलाई लक्षित गर्दै निःशुल्क सेवा प्रदान गरेको हो। शिविरमार्फत दाँतको जाँच, मुख स्वास्थ्य परामर्श तथा आवश्यक सुझावहरू दिइएको जनाइएको छ।
स्वास्थ्य सेवामा पहुँच सीमित रहेको ग्रामीण क्षेत्रमा आयोजित यस कार्यक्रमले विद्यार्थी तथा स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुगेको छ। दन्त स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न कार्यक्रम प्रभावकारी रहेको बताइएको छ।
जानकारी तेन्जिङ नुपुका अनुसार, स्थानीय समुदायले डा. शशांक ताम्राकार तथा उहाँको सम्पूर्ण टोलीप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालन हुने अपेक्षा व्यक्त गरेका छन्।







