नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहित तीन जना नेतामाथि कारबाही गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि अनुशासनात्मक कारबाही गर्ने निर्णय गरेको हो।
यस निर्णयअनुसार उनीहरू तीनै जनालाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने उद्देश्यले महामन्त्रीद्वयले ‘अन्तिम विकल्प’का रूपमा पठाएको आठ बुँदे प्रस्ताव संस्थापन पक्षले अस्वीकार गरेपछि कारबाहीको प्रक्रिया अघि बढाइएको हो। संस्थापन पक्षले प्रस्तावका आठ बुँदमध्ये एउटा बाहेक अन्य सबै बुँदा अस्वीकार गरेको थियो।
कार्यवाहक सभापति खड्काले निर्वाचन आयोगमा पठाइएका उम्मेदवारहरूको नामावलीमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर परिवर्तन गर्ने प्रस्तावबाहेक अन्य प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारेका थिए। उनले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेर चुनावमा जाने तथा सभापति देउवाले पार्टीका गतिविधिबाट निष्क्रिय रहने प्रस्ताव अस्वीकार्य रहेको बताएका थिए।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सहमतिका लागि अन्तिम विकल्प भन्दै कार्यवाहक सभापति खड्कालाई सन्देश पठाएका थिए। उक्त प्रस्तावमा सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वका रूपमा कुनै काम–कारबाही नगर्ने, संसदीय उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति खड्काको हस्ताक्षर रहने, अर्को महाधिवेशनसम्म अन्तरिम अवधिका लागि चार–पाँच जना नेताहरू सम्मिलित ‘हाई कमान्ड’ गठन गर्ने तथा गगन थापालाई कांग्रेसको भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै उनकै नेतृत्वमा आगामी निर्वाचनमा जाने विषय समेटिएको थियो।







