ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ति) को अवसरमा ऐतिहासिक माघेनी मेलासँगै उक्त गोल्ड कप आयोजना गर्न लागिएको हो ।
शनिबार फुङलिङमा आयोजित पत्रकार सम्मेलनमार्फत फक्ताङलुङ गाउँपालिका–३, लिङ्खिमस्थित सिंवा बजारमा मेला तथा गोल्ड कप सञ्चालन हुने जानकारी गराइएको हो । माघेनी मेला यसअघि पनि नियमित रूपमा हुँदै आएको भए पनि गोल्ड कप भने पहिलो पटक आयोजना हुन लागेको हो ।
माघेमेला सञ्चालन समिति र सिंवा स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने आमन्त्रित गोल्ड कपमा आठ टोलीको सहभागिता रहने माघेमेला सञ्चालन समितिका अध्यक्ष तेजवीर लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा आयोजक सिंवा स्पोर्टिङ क्लब लिङ्खिमसहित जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघु, ड्रिम बोइज एफ.सी. धनकुट्टा, खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुम, नाम्थोक युवा क्लब पाँचथर, बी.सी.एस. मेमोरियल युवा क्लब सावादिन, श्री लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुमखिम र कन्काई स्पोर्टिङ क्लब झापाको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद १ लाख ७५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष लिम्बूले बताउनुभयो । साथै बेस्ट प्लेयर, बेस्ट डिफेन्डर, हाई स्कोरर र बेस्ट किपरका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
मेलाअन्तर्गत वृहत माघेनी मेला सांगीतिक साँझ–२०६२ समेत सञ्चालन हुने सांस्कृतिक संयोजक फुङनाम लिङ्खिमले जानकारी दिनुभयो । उहाँका अनुसार सांगीतिक साँझमा राष्ट्रिय कलाकार तारा प्रकाश लिम्बूसँगै चर्चित तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।
विशेषगरी सिंवा बजारलाई जिल्लाको तेस्रो ठूलो बजारका रूपमा लिइन्छ । कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल, ऐतिहासिक ओलाङचुङगोला, सिङ्जेमा ताल तथा चीनसँग जोडिएको तिप्ताला नाका जाने प्रवेशद्वारका रूपमा रहेको सिंवा बजारको पर्यटन प्रवर्द्धन तथा व्यापारिक विकास गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।







