ताप्लेजुङ । कोशी प्रदेशका निवर्तमान उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले आफ्नो कार्यकालमा सधैं जनता, समाज र राष्ट्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ।
मंगलबार मन्त्रीपरिषद् हेरफेरसँगै पदबाट बिदा हुँदै उहाँले सामाजिक सञ्जालमार्फत १४ महिना २४ दिनको कार्यकाल स्मरण गर्दै जनमुखी र उदाहरणीय कामहरू गरेको उल्लेख गर्नुभएको हो। विभिन्न अप्ठ्यारा परिस्थिति र चुनौतीका बाबजुद मन्त्रालयका कामहरूलाई नियमित अवस्थामा ल्याउन सफल भएको उहाँको भनाइ छ।
मन्त्री हाङ्गामले गत भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’पछि मन्त्रालयमा भएको आगलागी र तोडफोडबाट सिर्जित संकट व्यवस्थापन गर्दै नियमित सेवा सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो। ताप्लेजुङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित सांसदका रूपमा जनताले अपेक्षा गरेका आवश्यक योजनाहरू कार्यान्वयन गरेको पनि उहाँले दाबी गर्नुभएको छ।
मन्त्री पदबाट बाहिरिँदै गर्दा जनतामाझ शीर उच्च बनाएर फर्किएको र आगामी दिनमा अझ उत्तरदायी, प्रतिबद्ध र लगनशील भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै उहाँले मन्त्रालयका सचिव, कर्मचारी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभएको छ।
यसैबीच, मुख्यमन्त्री हिकमत कुमार कार्कीले मंगलबार कांग्रेस र एमालेका पाँच–पाँच जना मन्त्री नियुक्त गर्दै कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठन गर्नुभएको छ।







