ताप्लेजुङ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको फुङलिङ नगरपालिकास्थित सामुदायिक भवनको पुनर्निर्माण शिलान्यास विवादमा परेको छ।
फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ र जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख विष्णु तिवारीले भवन पुनर्निर्माणको शिलान्यास गरेपछि जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले आपत्ति जनाएका हुन्।
शिलान्यास कार्यक्रमका तस्बिर सार्वजनिक भएपछि समन्वय प्रमुख लामाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै जानकारी नै नदिई शिलान्यास गरिएकोप्रति प्रश्न उठाएका छन्। आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्, ‘जिल्ला समन्वय प्रमुख र उपप्रमुख मुग्लान भएका बेला सामुदायिक भवनको शिलान्यास गरियो ? जानकारीसमेत नदिई किन हतार गरियो ? यो गम्भीर विषय हो, जवाफ चाहिन्छ।’
सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा पहिलो तलासम्म निर्माण गर्ने गरी भवन पुनर्निर्माणको काम अघि बढाएको जनाएको छ। कार्यालयका अनुसार पुराना सबै संरचना भत्काउने, काठ र ढुंगालगायत सामग्री व्यवस्थापन गर्ने तथा २१ मिटर चौडाइ र ४१ मिटर लम्बाइको क्षेत्र सम्याउने काम सम्पन्न भइसकेको छ।
कार्यालयले ५ करोड रुपैयाँको लागत अनुमानसहित ठेक्का आह्वान गरे पनि केबी जिएनएस भक्तपुरले ३ करोड २५ लाख १८ हजार रुपैयाँमा भवन निर्माणको ठेक्का सम्झौता गरेको छ। सम्झौताअनुसार निर्माण कार्य २०८३ असार १८ गतेभित्र सम्पन्न गर्नुपर्नेछ।
तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट जिल्ला समन्वय प्रमुख बनेका छिरिङ लामा जेनजी आन्दोलनपछि नेकपा एमालेमा प्रवेश गरेका थिए। शिलान्यासप्रति उनले आपत्ति जनाएपछि एमाले समर्थकहरूले सामाजिक सञ्जालमार्फत उनको पक्षमा समर्थन जनाएका छन्।
यता जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख विष्णु तिवारी र फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन नेपाली कांग्रेसका हुन्। कार्यवाहक प्रमुख तिवारीले आफ्नै उपस्थितिमा शिलान्यास गरिएको दाबी गर्दै सदरमुकाममा सार्वजनिक कार्यक्रम सञ्चालन गर्न मिल्ने एकमात्र भवन भएकाले निर्माण कार्य छिटो अघि बढाउन शिलान्यास गरिएको बताए।







