ताप्लेजुङ । १६ औँ अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने भएको छ। जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दो र उसु गरी ६ विधाका खेल समावेश हुनेछन्। कुल ६६ स्वर्ण, ६६ रजत र ७० कांस्यसहित २०२ पदकका लागि प्रतिस्पर्धा हुनेछ। भलिबल र कबड्डीमा सेमिफाइनल पुगेका थप टोलीलाई समेत कांस्य पदक प्रदान गरिनेछ।
आयोजकले निर्देशिका र मापदण्ड बाहिरका खेलाडीलाई सहभागी नगराइने स्पष्ट पारेको छ। सिदिङ्वा गाउँपालिकाले प्रतियोगिता निष्पक्ष र विद्यालयस्तरका खेल प्रतिभाको पहिचानमा केन्द्रित हुने जनाएको छ। प्रतियोगिताका लागि करिब २८ लाख ७९ हजार रुपैयाँ खर्च अनुमान गरिएको छ।







