ताप्लेजुङ । प्रथम मानाभारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि माछापोखरी हिटी क्लब चाँगेले हात पारेको छ। फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा शनिबार सम्पन्न फाइनल खेलमा माछापोखरीले लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुङ्खिमलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।
खेल सुरु भएको १७ सेकेन्डमै विदेशी खेलाडी फोडे फोफोनाले गोल गर्दै माछापोखरीलाई आक्रामक सुरुवात दिलाए। त्यसपछि शक्ति राईले खेलको २३औँ र २९औँ मिनेटमा लगातार दुई गोल गर्दै माछापोखरीको स्पष्ट जित सुनिश्चित गरे।
उपाधि जितेसँगै माछापोखरीले नगद ३ लाख २ हजार ८२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको लालीगुराँस स्पोर्टिङ युवा क्लबले १ लाख ५२ हजार ८२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी माछापोखरीका आर.के. कन्दङ्वा घोषित भए भने हाइ स्कोरर उपाधि फोडे फोफोनाले हात पारे।
यस्तै, वेस्ट फरवार्ड दिपेश लिम्बू, वेस्ट मिडफिल्डर जमिन लिम्बू, वेस्ट डिफेन्डर सनम राई र वेस्ट गोलकिपर देवान भुजेल घोषित भए। उनीहरूलाई नगदसहित ट्रफी प्रदान गरिएको थियो।
यसअघि सेमिफाइनल चरणमा माछापोखरीले जनसेवा आदर्श स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो। अर्को सेमिफाइनलमा लालीगुराँसले नवप्रयास युथ क्लब हाङ्देवालाई ७–६ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
स्थानीय नगदे बाली अलैँचीको प्रवर्द्धन तथा लिम्बू समुदायको पहिचान बोकेका ऐतिहासिक स्थल नाहाङ्मा–यक र गडीडाँडाको संरक्षण र प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!