ताप्लेजुङ, पुस ८ । पाथीभरा क्षेत्रको धार्मिक महत्व, पहिचान तथा पर्यटन सम्भावनालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित पाथीभरा बहुमुखी क्याम्पस, ताप्लेजुङमा डिजिटल वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ।
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (FSU) पाथीभरा बहुमुखी क्याम्पसको आयोजनामा तथा पाथीभरा क्षेत्र विकास समितिको आर्थिक सहयोगमा “पाथीभरा देवी : श्रद्धा, संस्कृति र पर्यटनको केन्द्र” शीर्षकमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी वक्ताले ३ देखि ५ मिनेटसम्मको भिडियो तयार गरी आगामी पुस २० गतेभित्र पठाउनुपर्नेछ।
भिडियो नेपाली भाषामै हुनुपर्ने र विषयवस्तुमा पाथीभरा देवीको धार्मिक आस्था, संस्कृति, पर्यटन प्रवर्द्धन, स्थानीय इतिहास तथा सम्भावनालाई समेट्नुपर्नेछ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। साथै, उत्कृष्ट प्रस्तुति दिने सहभागीहरूलाई औपचारिक कार्यक्रममा सम्मान गरिने आयोजकले जनाएको छ।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष तिलकुमार जोगीले प्रतियोगितामार्फत पाथीभरा क्षेत्रको प्रचार–प्रसारमा युवाहरूको सक्रिय सहभागिता बढ्ने विश्वास व्यक्त गर्नुभयो।








