ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँधु लेकुवामा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार स्थानीय मिङमातेञ्जी शेर्पाका अन्दाजी २५–२६ वर्षका छोरा फुर्वा रेञ्जु शेर्पाको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार फुर्वा रेञ्जु शेर्पा स्थानीय तिलोकसिंह लिम्बूको अलैंची बारीमा भरुवा बन्दुकमा बारुद भर्दै गरेको अवस्थामा बन्दुक अचानक पड्किएको थियो। पड्किँदा गोली घाँटीमा लागेपछि उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाको बेला फुर्वासँगै गएका उनका भतिज सोनाम शेर्पाबाट प्राप्त प्रारम्भिक जानकारीका आधारमा उक्त तथ्य खुल्न आएको प्रहरीको भनाइ छ। घटनासम्बन्धी थप अनुसन्धानका लागि सोनाम शेर्पालाई प्रहरी नियन्त्रणमा लिइएको छ।
घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक दीपक लिम्बूको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।







