-तरुण भारती
२१ श्रावण, ताप्लेजुङ । गत चैतमा ताप्लेजुङमा पर्यटन महोत्सव गर्न छलफल चल्यो । पर्यटन बोर्डले १५ लाख विनियोजन गरेको हल्लासँगै महोत्सव माहौल बनाउन दैनिकजसो बैठक हुन थाल्यो । चैत १८ गते जिल्ला समन्वय समितिमा सर्वपक्षीय बैठक बस्यो । जिसस प्रमूख छिरिङ लामा संयोजक र फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेन सहसंयोजक चयन भए । चैत १८ गतेदेखि बैसाख ५ गतेसम्म ४ पटक बैठक बस्यो । सबै बैठकमा सहभागीले महोत्सव गर्ने भन्दै एउटै विषयमा ४ पटक निर्णय गर्यो । तोक्मेडाँडास्थित नेपाली सेनाको मैदानमा महोत्सव गर्ने अधिकांशको मनसाय थियो । जिल्ला समन्वय समितिले सेनालाई मैदान उपलब्ध गराईदिन अनुरोधसहित पत्र पनि लेख्यो । बैसाख ७ गते पत्रकार देवराज गुरुङलाई सदस्य सचिवको जिम्मेवारी दियो । सदस्य सचिवको जिम्मेवारी लिन गुरुङले बैठकमा हात उठाउँदै नभ्याउने बताए । तर हलले जिम्मा लिएर अघि बढ्न अनुरोध गरे । गुरुङले सोधे,‘पर्यटन बोर्डबाट १५ लाख आउने पक्का हो । नत्र महोत्सव गर्न सम्भव छैन् ।’ जिसस प्रमूख र नगरप्रमूखले जवाफ दिए,‘पर्यटन बोर्डबाट पैसा आउँछ । ढुक्क हुनुहोस् ।’ नेकपा माओवादी केन्द्रका विष्णु हाङबाङले गुरुङलाई ढाडस दिदै भने,‘देवराज जी हामी छौ । महोत्सव गरौ ।’ समयक्रमसँगै हलले १५ सदस्यीय सचिवालय गठन गर्यो । २८ वटा उपसमिति चयन गर्यो । संयोजक र सहसंयोजक काठमाडौ गए । तत्कालिन प्रधानमन्त्री पुष्पकमल प्रचण्डदेखि डा.सन्दुक रुइतसम्मलाई महोत्सवको निम्तो दिएर फर्के । काठमाडौस्थित पर्यटन बोर्डको सभाहलमा सर्वपक्षीय छलफल समेत गरे । तर महोत्सवको मिति नजिकिएसँगै न त सेनाले मैदान उपलब्ध गरायो, न त महोत्सव अनुकुल बातावरण नै बन्यो । महोत्सवको मुखैमा पाथीभरामा केबलकार निर्माण कम्पनीले मध्यरातमा रुख कटान गर्यो । केबलकार संघर्ष समिति लगायत विभिन्न सँघ संस्थाले यातायात तथा बजार बन्दको आव्हान गर्यो । त्यो सास्ती महोत्सव टिमले वेहोर्नुपर्यो । महोत्सव हुन्छ÷हुुँदैन भन्नेमा बहस चल्न थाल्यो । प्रशासन र जिसस कोठा बैठकले ब्यस्त बन्यो । जिल्ला जिल्लाबाट आउने तयारीमा रहेका उद्यमी आधा बाटोबाटै फर्किए । अन्ततः तयारीमा धेरै रकम खर्चिएको र व्यवसायीले पनि महोत्सवमा विक्री गर्ने सामाग्रीमा लगानी गरिसकेकाले महोत्सव गर्नैपर्ने दबाव आयोजकले थेग्न सकेन । र,महोत्सव सुरु भयो । प्रधानमन्त्रीले महोत्सव मात्र उद्घाटन गर्ने तयारी थियो । तर नेपथ्यबाट एउटा पक्षले प्रधानमन्त्रीले केबलकारको पनि शिल्यान्यास गर्छ भन्ने हल्ला भित्रभित्र भुसको आगोझै सल्काईदियो । जुन सत्य थिएन् । महोत्सव जेठ ३ गतेदेखि ७ गतेसम्म थियो । ५ गते दिउँसो दुवै पक्षबिच प्रशासनमा सहमति भयो । बन्द खुल्यो । महोत्सव सहज बन्यो । तर महोत्सव टिमले भनेजस्तो गरि कार्यक्रम गर्न सकेन । शिर्षक परिवर्तन गरेर रकम ल्याउनुपर्ने प्रयास गरे । तर सकेनन् । यदि पर्यटन बोर्डले १५ लाख दिएको हुँदो हो त, उक्त रकम बचत हुन सक्थ्यो । किनकी महोत्सवले सोमबार पत्रकार सम्मेलन गरि आय व्यय सार्वजनिक गरेको छ । महोत्सव संयोजक तथा जिसस प्रमूख छिरिङ लामाका अनुसार कष्टले महोत्सव सकियो । प्रमूख लामाले भने,‘जसले पैसा दिन्छु भनेर महोत्सव गर्ने आँट गर्यौ । त्यही संस्थाले पैसा दिएन् । तैपनी महोत्सव सक्यौ ।’ सचिवालय,उपसमिति,राजनीतिक दल,कलाकार र जिल्लाबासी सबैले उनले धन्यबाद दिए ।
जिल्ला समन्वय समितिको हलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवमा ४९ लाख २७ हजार ४ सय रुपैयाँ खर्च विवरण सार्वजनिक गरेको हो । महोत्सवको कर कार्यालय पाँचथरमा ७५ हजार रुपैयाँ धरौटी रकम रहेको प्रमूख लामाले बताए । करदाता सेवा कार्यालय पाँचथरमा पान नम्बर बन्द गर्नका लागि लेखापरिक्षण,यातायात र भइपरि आउने शिर्षकमा १ लाख रुपैयाँ विनियोजन गरेको छ । उनले थपे,‘रकम बचत भए सार्वजनिक गर्छौ । यहि महिनाभित्र करको काममा लाग्छौ ।’
महोत्सवका तस्बिरहरु:




























