ताप्लेजुङ । करिब तीन शाता अघिदेखि बेपत्ता भई मृत अवश्थामा भेटिएको ६ वर्षीया बालिकाको शव शंस्कास्पद देखिएपछि पोष्टमार्टमको लागि धरान पठाइएको छ ।
फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको आयुजिम्बामा बिहीबार फेला पारिएको सोनिया लिम्बूको शव पोष्टमार्टम गर्नका लागि शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना तथा सवन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुसराम कार्कीले जानकारी दिनुभयो । गत माघ २५ गतेदेखि बेपत्ता भएकी बालिकाको खोजतलास गर्ने क्रममा बिहीबार शंकास्पद अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक कार्कीकै नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले शुक्रबार घटनास्थलको मुचुल्का (विवरण) उठाई शव सदरमुकाम ल्याइएको थियो । उहाँका अनुसार घटना शंकास्पद भएकाले शवको पोष्टमार्टम (परीक्षण) गर्न शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
यता घटना शंकास्पद भएपछि बालिकाकी आमा फूलमाया लिम्बू र कान्छाबाबु (झर्केलो बाबु) पूर्णकुमार लिम्बूलाई घटनाबारे सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । उहाँहरुसँग बालिकाको घटनाबारे सोधपुछ भइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक बालिकाकी आमा फूलमायाले पूर्णकुमारसँग केही महिनाअघि मात्र दोस्रो विवाह गरेको बताइएको छ ।







