ताप्लेजुङ, फागुन ९ गते । तीन विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिसकेको ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले एक विपन्न परिवारको घर निर्माण गरिरहेको छ ।
५ नं. वडा चाक्सिबोटेका कमला सेनेहाङको लागि आवास निर्माणको कार्य जारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कार्य सम्पन्न भएपछि सेनेहाङको परिवारलाई हस्तान्तरण गरिने छ । यसअघि वडा नं १ नाङखोल्याङका मदनकुमार कामी, वडा नं ३ तिरिङ्गेका बिर्खबहादुर लिम्बू र वडा नं ५ चाक्सिबोटेका मनबहादुर राईको परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो । पालिकाका अनुसार घर निर्माणका लागि प्रतिघर २ लाखदेखि करिब ४ लाख रुपैँयासम्म खर्च गरिएको छ ।
गाउँपालिकाले पालिका भरीका अति विपन्न परिवारलाई घर निर्माण गरिदिने अभियान अन्तर्गत वडास्तरबाट नै सबैभन्दा निम्न आर्थिक अबस्था भएका परिवारलाई छनोट गरी घर निर्माण गरिदिन थालेको हो । पालिकाका अन्य वडामा समेत अति विपन्न घर परिवारको पहिचान भएकाले ती परिवारका लागि समेत निर्माण कार्य चाँडै प्रारम्भ गर्ने पालिकाको तयारी भईरहको बताइएको छ ।







