ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात र जिल्लाका विभिन्न स्थानमा वर्षा भएपछि २५० भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक सुरक्षित स्थानमा बसेका छन्।
प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा यात्रा गरिरहेका पर्यटक जोखिममा पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार कञ्चनजङ्घा आधार शिविर तथा सिङ्जेमा ताल हुँदै तिब्बत नाकातर्फ भ्रमणमा गएका २५० जनाभन्दा बढी पर्यटक विभिन्न होटल तथा स्थानीय बासिन्दाका घरमा सुरक्षित रूपमा बसिरहेका छन्।
मौसममा सुधार नआएसम्म जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। पर्यटक तथा यात्रुलाई मौसमको अवस्थाबारे जानकारी गराउन सुरक्षा निकाय, स्थानीय तह र स्थानीय बासिन्दामार्फत आवश्यक सूचना प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो।
उहाँले प्रतिकूल मौसमका कारण कुनै पर्यटक वा यात्रु समस्यामा परेमा सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गर्नुभएको छ।
हिमाली क्षेत्रमा मौसम छिटो परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि मौसमको अवस्था बुझ्न, जोखिमपूर्ण पदमार्गमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ।







