ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवास्थित थलङमा ५ शय्याको मिक्वाखोला गाउँपालिका अस्पताल उद्घाटन गरिएको छ। गाउँपालिकामै अस्पताल सञ्चालनमा आउने भएपछि सामान्य उपचारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने स्थानीयले विश्वास लिएका छन्।
शुक्रबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, उपाध्यक्ष मिङ्मा डण्डु लामा, प्रमुख प्रशासकीय अधिकृत विमल गौतमलगायतको उपस्थितिमा अस्पताल उद्घाटन गरिएको हो।
कुल ६ करोड ७८ लाख ५३३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको अस्पतालको २०७८ साल असार ३० गते शिलान्यास गरिएको थियो। अस्पताल भवन निर्माणको जिम्मेवारी विकोइ निर्माण सेवा, सेवालुङ निर्माण सेवा प्रालि र पहाडी निर्माण सेवाले संयुक्त रूपमा लिएका थिए।
अस्पताल निर्माणका लागि स्थानीय देउप्रसाद थलङ, शमशेरबहादुर थलङ र स्वर्गीय हरेराम थलङले प्रतिव्यक्ति २–२ रोपनीका दरले कुल ६ रोपनी जग्गा उपलब्ध गराएका थिए। उद्घाटन समारोहमा जग्गादाताहरूलाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार हाल अस्पतालबाट स्वास्थ्य चौकीमार्फत प्रदान हुँदै आएका स्वास्थ्य सेवाहरू सञ्चालन भइरहेका छन्। तिहारपछि अस्पतालबाटै सेवा प्रवाह गर्ने उद्देश्यले आवश्यक कर्मचारी व्यवस्थापनको प्रक्रिया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो।
अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि स्थानीय नागरिकले आधारभूत स्वास्थ्य सेवा आफ्नै गाउँपालिकामा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। यसले सामान्य उपचारका लागि टाढा जानुपर्ने समय, खर्च र झन्झट कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।







