ताप्लेजुङ । कतारमा १२ वर्ष सेक्युरिटी गार्डको काम गरेपछि अबिन्द्र गुरुङसँग दुई विकल्प थिए– फेरि विदेश जाने कि आफ्नै गाउँमा केही गर्ने। विदेशमै व्यवसाय गर्ने सोच बोकेर बसेका गुरुङले अन्ततः आफ्नो बाटो गाउँमै खोजे। २०७४ सालमा ताप्लेजुङ फर्किएर फुङ्लिङ नगरपालिका–३, मेदिबुङमा २०० वटा ब्रोइलर कुखुराबाट सुरु गरेको उनको कृषि यात्रा अहिले कुखुरा, ड्रागन फ्रुट, सुन्तला, केरा, अकबरे खुर्सानी र कफी खेतीसम्म फैलिएको छ।
सुरुमा सानो संख्यामा कुखुरा पालेर व्यवसाय थालेका गुरुङ अहिले ९०० ब्रोइलर, ८०० गिरिराज र १५० वटा स्थानीय जातका कुखुरा पालिरहेका छन्। उनको फार्मबाट दैनिक करिब ५० वटा अण्डासमेत उत्पादन हुन्छ।
तर यो यात्रा सहज भने थिएन। बजारको अनिश्चितता, दानाको मूल्यमा हुने फरक, एग्रोभेटको कमजोर अनुगमन र डिलरसिपको अभावले आफूजस्ता किसानलाई व्यवसाय विस्तार गर्न चुनौती रहेको गुरुङ बताउँछन्।
अहिले चल्लाको मूल्य प्रतिगोटा १३५ रुपैयाँ पुगेको छ। जेठदेखि भदौसम्म कुखुरा उत्पादन तथा बिक्रीमा समस्या हुने गरेको उनको अनुभव छ भने मंसिरको समयमा बजार र माग बढ्ने गर्छ।
“उत्पादन गर्न सकिन्छ, तर उत्पादनपछि बजारको समस्या हुन्छ। डिलरको व्यवस्था नहुँदा किसानले जोखिम लिएर लगानी गर्नुपर्छ,” गुरुङ भन्छन्।
कुखुरापालनसँगै उनले कृषि व्यवसायलाई विविधीकरण गरेका छन्। सुरुमा १० वटा बोटबाट ड्रागन फ्रुट खेती थालेका उनले अहिले १२० वटा बोट पुर्याएका छन्। साउनदेखि पुससम्म फल्ने ड्रागन फ्रुट प्रतिकिलो करिब ४०० रुपैयाँमा बिक्री हुन्छ। करिब डेढ क्विन्टल उत्पादन हुँदा पनि बजारमा माग धान्न नसकेको उनी बताउँछन्।
त्यस्तै, १२० वटा सुन्तलाका बोटबाट वार्षिक दुईदेखि साढे दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। यसबाहेक केरा, अकबरे खुर्सानी र कफीसमेत उत्पादन गर्दै आएका छन्।
कृषि व्यवसायमा आवश्यक प्रविधि र पूर्वाधारका लागि उनले घरेलु तथा साना उद्योगसम्बन्धी निकायबाट कुखुरा भुत्ल्याउने मेसिनसमेत प्राप्त गरेका छन्। कृषि ज्ञान केन्द्रलगायतका निकायबाट अनुगमन, प्राविधिक सहयोग र यान्त्रिकीकरणमा थप सहयोग आवश्यक रहेको उनको भनाइ छ।
सहुलियतपूर्ण कर्जाको अपेक्षा
गुरुङका लागि अहिलेको मुख्य चुनौती व्यवसाय विस्तारका लागि आवश्यक पुँजी र बजार हो। सहुलियतपूर्ण कर्जा सहज रूपमा उपलब्ध नहुँदा कृषि व्यवसायमा थप लगानी गर्न कठिनाइ भइरहेको उनी बताउँछन्।
उनका अनुसार किसानलाई अनुदानसँगै उत्पादनमा आधारित प्राविधिक सहयोग, बजारीकरण र सहुलियतपूर्ण कर्जाको व्यवस्था आवश्यक छ।
स्थानीय सरकारको कृषि लगानीप्रति पनि उनको अपेक्षा छ। गाउँपालिकामा कृषि क्षेत्रमा तुलनात्मक रूपमा बढी कार्यक्रम तथा लगानी हुने गरेको भए पनि नगरपालिकाभित्र व्यावसायिक कृषि गरिरहेका किसानलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
“नगरपालिकाभित्र पनि व्यावसायिक कृषि गर्ने किसान छन्। उनीहरूलाई पनि स्थानीय सरकारले हेरोस्,” गुरुङ भन्छन्।
कतारमा १२ वर्ष बिताएका गुरुङ अहिले विदेशमा कमाएको अनुभव र सिकाइ आफ्नै गाउँको माटोमा प्रयोग गरिरहेका छन्। २०० वटा कुखुराबाट सुरु भएको उनको यात्रा अहिले बहुविध कृषि व्यवसायमा परिणत भएको छ।
उनको कथा वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै सम्भावना खोज्ने युवाका लागि एउटा उदाहरण बनेको छ।







