ताप्लेजुङ, असोज १८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङमा आयोजना हुने खेवाङ खेलकुद महोत्सवमा यस वर्ष खेलाडीका लागि आकर्षक पुरस्कार घोषणा गरिएको छ । कात्तिक १६ देखि २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा फुटबल, पुरुष तथा महिला भलिबल र २१ किलोमिटर हाफ म्याराथन आयोजना हुने भएको हो ।

खेवाङ स्पोर्टिङ क्लबले आइतबार फुङलिङमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका पुरस्कार सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष विनम मावोका अनुसार फुटबलतर्फ झापा, इलाम, पाँचथर र ताप्लेजुङका ८ टोली सहभागी हुनेछन् । सहभागी टोलीको अन्तिम टुङ्गो भने केही दिनपछि लाग्ने जनाइएको छ ।

फुटबलको विजेताले १ लाख ५५ हजार ५८३ रुपैयाँ तथा उपविजेताले १ लाख ५ हजार ५८३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । आयोजकले यस वर्ष विगतको तुलनामा पुरस्कार राशि बढाएको जनाएको छ ।

त्यस्तै, अन्तरवडा पुरुष भलिबलको विजेताले ६० हजार र उपविजेताले ४० हजार रुपैयाँ तथा महिलातर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दुवै विधाका विजेता तथा उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिनेछ ।

२१ किलोमिटर दौडमा दशौं स्थानसम्म पुरस्कार

महोत्सवको अन्तिम दिन कात्तिक २१ गते २१ किलोमिटर हाफ म्याराथन आयोजना गरिने भएको छ । तत्कालीन खेवाङ गाउँ विकास समितिको साविक वडा नं. १ बाहेकका ८ वटा वडालाई समेटेर म्याराथनको रुट निर्धारण गरिएको आयोजकले जनाएको छ ।

खेवाङ स्पोर्टिङ क्लबको मैदानबाट सुरु हुने दौड एकचाना भञ्ज्याङ–लुङथुङ डाँडा–तम्फु–तावाटार–मानेडाँडा–जुगे डाँडा हुँदै पुनः खेवाङ स्पोर्टिङ क्लबको मैदानमा आएर पूरा हुनेछ ।

म्याराथनमा प्रथम हुनेले ३३ हजार ५८३ रुपैयाँ, दोस्रोले २२ हजार ५८३ रुपैयाँ र तेस्रो हुनेले १३ हजार ५८३ रुपैयाँसहित मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

चौथो स्थानका लागि ७ हजार ५८३ रुपैयाँ, पाँचौदेखि आठौं स्थानसम्मका धावकलाई जनही ५ हजार ५८३ रुपैयाँ तथा नवौं र दशौं हुनेलाई जनही ३ हजार ५८३ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने तथा खेवाङको खेलकुद गतिविधिलाई थप व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । क्लबका अध्यक्ष मावोका अनुसार महोत्सव सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!