
ताप्लेजुङ । पाथीभरा मुकुमलुङ क्षेत्रमा भएको झडपमा उद्धारका लागि गएका इन्सेक र रेडक्रसका प्रतिनिधिलाई नो केबलकार समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।
फुङलिङ नगरपालिका–९ र १० स्थित काफ्लेपाटी क्षेत्रमा नो केबलकार समूहका कार्यकर्ताले इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङका जिल्ला सभापति इन्द्र गुरुङ र उद्योग वाणिज्य संघ ताप्लेजुङका सभापति कमल लिम्बू सवार गाडीमा तोडफोड गरेका हुन् ।
आन्दोलनकारीले अधिकारकर्मी सवार मे१ज २५७९ को गाडी तोडफोड गर्दा गाडीको सबै सिसामा क्षति पुगेको छ ।
आन्दोलनकारीको आक्रमणबाट अधिकारकर्मीहरूले प्रयोग गरेको गाडीका सवारी चालक फुङलिङ नगरपालिका–९ का ३५ वर्षीय राजकुमार पौडेल शक्त घाइते भएका छन् । पौडेलको उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको इन्सेक प्रतिनिधि एलिना दियालीले बताइन् । आन्दोलनकारीले फुङलिङ नगरपालिका–९ का कमल लिम्बूमाथि पनि आक्रमण गरेका छन् ।
केबलकार निर्माणको विरोध गर्दै आएका मुकुम्लुङ संरक्षण समितिका कार्यकर्ता र सुरक्षाकर्मीबिच बिहीबार दिउँसो काफ्ले पार्टी क्षेत्रमा झडप भएको हो । झडपका क्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी र आन्दोलनकारी एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
घाइतेहरूको उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाडीमा तोडफोड भएपछि मेची राजमार्ग, तमोर करिडोर, बसन्तपुर गुफापोखरी लगायतका क्षेत्रमा यातायात बन्द आह्वान गरिएको यातायात व्यवसायी संघका अध्यक्ष कुमार लिम्बूले बताए ।