ताप्लेजुङ। मागअनुसार आपूर्ति हुन नसक्दा ताप्लेजुङमा खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । सदरमुकाम फुङ्लिङसहित सुकेटार, दोभानलगायतका बजारमा करिब एक सातादेखि ग्यासको अभाव भएको उपभोक्ताले बताएका छन् ।
ग्यास बिक्री केन्द्रमा खाली सिलिन्डर लिएर जाँदा ग्यास नभएको जवाफ पाउने गरेको फुङ्लिङ नगरपालिका–५ का उपभोक्ता विक्रम लिम्बूले बताउनुभयो । ग्यास अभाव भएपछि उपभोक्ताले भान्सामा ग्यासको प्रयोगसमेत सीमित गर्न थालेका छन् ।
ग्यास व्यवसायीका अनुसार डिलरबाट मागअनुसार आपूर्ति नहुँदा अभाव भएको हो । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष तथा व्यवसायी नारायण थापाका अनुसार बिहीबार करिब ३०० सिलिन्डर ग्यास जिल्लामा आएकोमा केही समयमै बिक्री भएको थियो ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतमले पछिल्लो केही सातादेखि हप्ता दिनदेखि दुई हप्ताको अन्तरालमा सीमित सङ्ख्यामा मात्र ग्यास आपूर्ति भइरहेकाले माग धान्न कठिन भएको बताउनुभयो । उपलब्ध ग्यास सबै उपभोक्तासम्म पुर्याउने उद्देश्यले स्थानीय बिक्रेतामार्फत प्रतिउपभोक्ता एक–एक सिलिन्डरका दरले वितरण गर्न पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
ताप्लेजुङमा मेची र पाथीभरा कम्पनीका ग्यास बिक्री हुँदै आएका छन् । सदरमुकामबाहेक केही बजारमा कोशी र कन्काई ग्याससमेत बिक्री हुने गरेको व्यवसायीले बताएका छन् । हाल भरिएको ग्यास सिलिन्डरको मूल्य प्रतिगोटा रु दुई हजार पाँच सय रहेको छ ।







