ताप्लेजुङ। लागू औषधको बढ्दो दुरुपयोग नियन्त्रण तथा युवापुस्तालाई यसबाट जोगाउने उद्देश्यले ताप्लेजुङका विभिन्न विद्यालयका विद्यार्थीलाई लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान गरिएको छ।
विश्व बाल श्रमिक दिवसको अवसरमा होप फर अल ताप्लेजुङ ले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूलाई लागू औषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको थियो।
संस्थाका अध्यक्ष मौसम गुरुङ का अनुसार लागू औषधको बढ्दो प्रयोग रोक्न समुदायस्तरमै सचेतना आवश्यक रहेको भन्दै सहभागी विद्यार्थीलाई गलत संगतबाट टाढा रहन, स्वस्थ जीवनशैली अपनाउन तथा कुनै पनि शङ्कास्पद गतिविधि देखिए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको थियो।
कार्यक्रममा लागू औषध दुर्व्यसनमा फसेका व्यक्तिहरूका लागि उपलब्ध उपचार तथा पुनःस्थापना प्रक्रियाका विषयमा जानकारी दिइनुका साथै लागू औषध कारोबारमा संलग्न व्यक्तिलाई कानुनअनुसार हुने सजायबारे समेत चर्चा गरिएको थियो। साथै, लागू औषधमुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरूलाई जिम्मेवार नागरिकका रूपमा सचेत र सक्रिय रहन प्रेरित गरिएको अध्यक्ष गुरुङले बताउनुभयो।
सचेतना कार्यक्रममा अमिर मादेन, भिमादेवी ओझा, शिवराज सेढाईं, शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले लागू औषधविरुद्ध सामूहिक अभियान सञ्चालन गर्दै सुरक्षित र स्वस्थ समाज निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।







