यातायात व्यवस्थापन, पार्किङ र ट्राफिक प्रवाहलाई व्यवस्थित गर्ने विषयमा छलफल
ताप्लेजुङ। आगामी “अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप–२०८३” लाई भव्य, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले लाखेजात्रा सञ्चालन समिति, ताप्लेजुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय, ताप्लेजुङ बीच समन्वय बैठक सम्पन्न भएको छ।
लाखेजात्रा सञ्चालन समितिको कार्यालयमा आयोजित बैठकमा प्रतियोगिताका क्रममा खेलप्रेमी दर्शक, सहभागी टोली तथा सवारी साधनको आवतजावतलाई सहज र सुरक्षित बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा खेल अवधिभर प्रभावकारी यातायात व्यवस्थापन, उपयुक्त पार्किङ स्थलको पहिचान, ट्राफिक प्रवाहलाई व्यवस्थित बनाउने तथा सम्भावित भीड व्यवस्थापनका लागि आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा सहमति भएको जनाइएको छ।
प्रतियोगितामा दर्शकको उल्लेखनीय सहभागिता हुने अपेक्षालाई ध्यानमा राख्दै सुरक्षा, सहज आवागमन र व्यवस्थित ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर आवश्यक तयारी अगाडि बढाइने सम्बन्धित पक्षले जनाएको छ।
समितिले सम्बन्धित सबै निकायको समन्वय र सहकार्यबाट यस वर्षको अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप–२०८३ लाई सफल, सुरक्षित र अनुशासित रूपमा सम्पन्न गर्ने विश्वास व्यक्त गरेको छ।







