ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा कात्तिक महिनामा झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा ४९ लाख ८७ हजार २०० रुपैयाँ भेटी संकलन भएको हो।

समितिका अनुसार कात्तिक महिनामा ६४ हजार १०६ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन्। यसअघि असोज महिनामा १६ लाख ४१ हजार १५० रुपैयाँ र भदौ महिनामा २३ लाख ६७ हजार रुपैयाँ भेटी संकलन भएको थियो।

पाथीभरामा कात्तिक २८ गते शनिबार विगतका वर्षयताकै एकै दिन सबैभन्दा धेरै दर्शनार्थी पुगेका थिए। समितिका सूचना प्रविधि प्रमुख सन्तोष पुर्कुटीका अनुसार उक्त दिन मात्रै ११ हजार २७२ जनाले मन्दिरको दर्शन गरेका थिए।

समितिले हरेक महिना संकलित भेटीको गणना गरी सार्वजनिक गर्दै आएको छ।

समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा धाम पुग्न धरान–माझीटार हुँदै तमोर करिडोर वा झापाको बिर्तामोडबाट इलाम–पाँचथर हुँदै मेची राजमार्गको प्रयोग गर्न सकिन्छ।

सुकेटारसम्म पक्की सडक र काफ्लेपाटीसम्म कच्ची सडक पुगेको छ। त्यस्तै, काठमाडौँबाट सुकेटारसम्म हवाईमार्गबाट समेत पुग्न सकिन्छ।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म करिब पाँच किलोमिटर पैदलयात्रा गर्नुपर्छ। पैदलमार्गलाई सहज र व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी तथा हिउँबाट जोगिन फाइबरका छाना निर्माण गरिएका छन्। यसले उच्च हिमाली क्षेत्रमा पुग्ने श्रद्धालुहरूको यात्रालाई थप सहज बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!