ताप्लेजुङका कुनै पनि नागरिकले आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिने वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार फुङलिङमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा नवनिर्मित आँखा शल्यक्रिया कक्षको उद्घाटन गर्दै डा. रुइतले पैसाकै अभावमा मोतियाबिन्दुको शल्यक्रिया गर्न नपाउने अवस्था अन्त्य गर्ने बताएका हुन्।
उनले आर्थिक अवस्था कमजोर भएका तथा गरिबीकै कारण उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई समेत सहज रूपमा आँखाको उपचार उपलब्ध गराउने प्रतिबद्धता जनाए।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा निर्माण गरिएको सुविधासम्पन्न शल्यक्रिया कक्ष सञ्चालनमा आएसँगै ताप्लेजुङमै आँखाको शल्यक्रिया सेवा विस्तार हुने भएको छ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङले यसअघि डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रलाई आधारभूत आँखा अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। गत वर्ष आयोजित आँखा शिविरका क्रममा शल्यक्रिया कक्षको आवश्यकता औँल्याइएपछि डा. रुइतले निर्माणको प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार शल्यक्रिया कक्ष निर्माण सम्पन्न भई उद्घाटन गरिएको हो।
संघका सभापति राजकुमार गुरुङका अनुसार अब केन्द्रमा चिकित्सक आवास कक्ष निर्माण गर्ने तयारी छ। चिकित्सक आवास निर्माण भएपछि आधारभूत आँखा अस्पतालका रूपमा स्तरोन्नति गरी मासिक रूपमा नै शल्यक्रिया सेवा सञ्चालन गर्ने योजना रहेको संघका सचिव युवराज गिरीले जानकारी दिए।
यसैबीच, फुङलिङमा शनिबारदेखि चारदिने निःशुल्क आँखा स्वास्थ्य शिविरसमेत सुरु भएको छ। शिविरको उद्घाटन गर्दै फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले ताप्लेजुङबाटै नियमित शल्यक्रियासहितको आँखा उपचार सेवा सञ्चालन गर्ने योजनाको प्रशंसा गर्दै शल्यक्रिया कक्ष निर्माणमा सहयोग पुर्याएकोमा तिलगंगा आँखा प्रतिष्ठानलाई धन्यवाद दिए।
डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज तथा वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङका अनुसार शिविरको पहिलो दिन ३ सय ५३ जनाले आँखा परीक्षणका लागि नाम दर्ता गराएका छन्। तीमध्ये ६८ जनालाई मोतियाबिन्दुको शल्यक्रियाका लागि छनोट गरिएको छ।
नेपाल नेत्रज्योति संघका अनुसार डा. सन्दुक रुइत, उनका छोरा सागर र अमेरिकी चिकित्सक डा. जेएफले शिविरमा शल्यक्रिया सेवा प्रदान गरिरहेका छन्।







