ताप्लेजुङ, मङ्सिर ३ । ताप्लेजुङको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल मुक्कुमलुङमा प्रस्तावित केबलकार निर्माण योजना तत्काल खारेज गर्न माग गरिएको छ ।
मुक्कुमलुङ संरक्षणका लागि आन्दोलनरत मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अनन्तकालीन सङ्घर्ष समितिले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन् ।
मङ्गलबार जारी विज्ञप्तिमा मुक्कुमलुङ याक्थुङ लिम्बू आदिवासी समुदायको मुन्धुमी आस्था, सभ्यता, इतिहास, पहिचान र सांस्कृतिक जीवनसँग अभिन्न रूपमा जोडिएको पवित्र स्थल भएको उल्लेख गरिएको छ । समितिले मुक्कुमलुङलाई केवल धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा नभई आदिवासी समुदायको सांस्कृतिक अस्तित्व र पुर्ख्यौली विरासतको प्रतीकका रूपमा व्याख्या गरेको छ ।
केबलकार निर्माणको विरोधमा उत्रिएका समुदायमाथि राज्यका निकाय तथा निर्माणमा संलग्न पक्षबाट दमन, ज्यादती र मानव अधिकार उल्लङ्घन भएको आरोपसमेत समितिले लगाएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट आक्रमण, गोली प्रहार, झुटा मुद्दा लगाउने तथा धम्की दिने कार्य भएको विज्ञप्तिमा दाबी गरिएको छ ।
समितिले घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय, अदालतमा विचाराधीन मुद्दाको स्वतन्त्र सुनुवाइ तथा सरकारसमक्ष पेस गरिएको सात सदस्यीय कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
सरकारसमक्ष नौबुँदे माग अघि सार्दै समितिले केबलकार आयोजना खारेज गर्न, कानुनविपरीत भएका कार्यको छानबिन गरी दोषीलाई कारबाही गर्न, आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा खारेज गर्न तथा घाइतेको उपचार र जीविकोपार्जनको व्यवस्था गर्न माग गरेको छ ।
त्यसैगरी पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०५३ तथा क्षेत्र विस्तारसम्बन्धी संशोधित गठन आदेश खारेज गरी मुक्कुमलुङ क्षेत्र विकास गर्दा आदिवासी समुदायको सहमति र नेतृत्व सुनिश्चित गर्नुपर्ने माग पनि राखिएको छ ।
समितिले आफूहरू विकासको विरोधी नभएको स्पष्ट पार्दै आदिवासी समुदायको अस्तित्व, आस्था, पहिचान र प्राकृतिक सम्पदामाथि क्षति पुर्याएर गरिने विकास स्वीकार्य नहुने जनाएको छ । मुक्कुमलुङको संरक्षण, विकास र संवर्द्धन मुन्धुमी तथा सांस्कृतिक मूल्य–मान्यताअनुसार हुनुपर्ने समितिको जोड छ ।









