ताप्लेजुङ । ताप्लेजुङमा आगामी मङ्सिर ५ गतेदेखि ८ गतेसम्म चारदिने आँखा शिविर सञ्चालन हुने भएको छ ।
डिचेन डोजिला स्मारक आँखा उपचार केन्द्र, ताप्लेजुङमा सञ्चालन हुने शिविरमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोग रहने जनाइएको छ ।
शिविरमा परीक्षणका क्रममा मोतिबिन्दु देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । त्यस्तै, बिरामीलाई निःशुल्क औषधि वितरण गरिनेछ भने ४० वर्षभन्दा माथिका व्यक्तिलाई पढ्नका लागि आवश्यक चस्मासमेत निःशुल्क उपलब्ध गराइनेछ ।
शिविरमा नाम दर्ताका लागि ६० रुपैयाँ शुल्क लाग्ने सूचनामा उल्लेख छ ।
नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ, तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, रुइत फाउन्डेसन, फुङलिङ नगरपालिका र लायन्स क्लब अफ काठमाडौँको संयुक्त आयोजनामा शिविर सञ्चालन हुन लागेको हो ।
आयोजकले आँखासम्बन्धी समस्या भएका सम्पूर्ण जिल्लावासीलाई शिविरमा सहभागी भई स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छ ।







