मंसिर ३, २०८३। ताप्लेजुङको फुङलिङ नगरपालिका–२, शिक्षा लाइनकी भावना केदेम लिम्बू कोशी प्रदेशस्तरीय महिला ब्याडमिन्टन प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेकी छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि इटहरीमा आयोजित कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सुनसरीकी सविज्ञा दाहाललाई पराजित गर्दै भावनाले स्वर्ण पदक जितेकी हुन् ।
कोशी प्रदेश ब्याडमिन्टन छनोट प्रतियोगिताका संयोजक भोगेन्द्र थापाका अनुसार महिलातर्फ भावनासहित सविज्ञा दाहाल, झापाकी अञ्जना राई, उदयपुरकी रोजी राई, इलामकी निसाम हाङमा सुब्बा र भोजपुरकी नन्सल तामाङ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् । एनबीए वरीयतामा दोस्रो स्थानमा रहेकी नन्सल तामाङ भने सोही वरीयताका आधारमा सीधै छनोट भएकी हुन् ।
पुरुषतर्फ भने ताप्लेजुङका मिलिन गुरुङ आठौँ स्थानमा सीमित हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुन सकेनन् । जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सुरेश सिंघकका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मिलिन र दीपिन गुरुङले सहभागिता जनाएका थिए ।
पुरुषतर्फ मोरङका प्रतीक बिष्ट सर्वोत्कृष्ट बने । उनले सुनसरीका संगम गिरीलाई पराजित गरेका थिए । प्रतीक र संगमसँगै सङ्खुवासभाका सुनील कार्की, उदयपुरका विनय चौधरी, मोरङका जोनसस राज तथा भोजपुरका सन्दीप राई र विशाल तामाङ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
इटहरीमा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ सात र महिलातर्फ छ गरी कुल १३ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन् ।
यस प्रतियोगितामा ताप्लेजुङबाट पाँच महिला र सात पुरुष गरी १२ खेलाडी सहभागी भएका थिए । प्रदेशस्तरीय प्रतिस्पर्धामा स्वर्ण पदक जित्दै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएकी भावनाको सफलताले ताप्लेजुङको खेलकुद क्षेत्रमा थप उत्साह जगाएको छ ।







