ताप्लेजुङ । नागरिकताको प्रतिलिपि लिन अब नागरिकता जारी भएको जिल्ला नै पुग्नुपर्ने बाध्यता हटेको छ। ताप्लेजुङ जिल्लाबाट नागरिकता लिएका नागरिकले आवश्यक प्रक्रिया पूरा गरी देशका अन्य जिल्लाबाट समेत नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा विवरण अद्यावधिक तथा प्रमाणीकरण भएको अवस्थामा अन्य जिल्लाबाट समेत प्रतिलिपि लिन सकिनेछ।

सूचनाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका ताप्लेजुङका नागरिकले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट नागरिकताको प्रतिलिपि लिन सक्नेछन्। त्यस्तै, अन्य ७३ जिल्लामा रहेका नागरिकले सम्बन्धित जिल्लाकै प्रशासन कार्यालयबाट प्रतिलिपि प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

यस व्यवस्थाले रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा जिल्ला बाहिर रहेका ताप्लेजुङवासीलाई नागरिकताको प्रतिलिपि लिनकै लागि गृहजिल्ला आउनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।

प्रशासनका अनुसार राष्ट्रिय परिचयपत्र तथा केन्द्रीकृत नागरिकता सूचना प्रणालीमा रहेका विवरणसँग माग गरिएको विवरण हुबहु मिलेमा स्थानीय तहको सिफारिससमेत आवश्यक पर्ने छैन। प्रतिलिपिका लागि नागरिकता नियमावली (पाँचौँ संशोधन) २०८३ को अनुसूची–१६ र बेजिल्लाबाट प्रतिलिपि माग गर्दा अनुसूची–१८ बमोजिमको ढाँचामा निवेदनसहित आवश्यक प्रमाण कागजात पेस गर्नुपर्नेछ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालद्वारा हस्ताक्षरित सूचनामा स्थानीय तहबाट नागरिकताको सिफारिस गरिएको अवस्थामा त्यस्तो सिफारिस ३५ दिनसम्म मात्र मान्य हुने उल्लेख छ।

नागरिकताको प्रतिलिपि लिन १० रुपैयाँको हुलाक टिकटबाहेक अन्य कुनै अतिरिक्त दस्तुर नलाग्ने प्रशासनले स्पष्ट पारेको छ।

यस व्यवस्थाले जिल्ला बाहिर बसोबास गर्ने नागरिकलाई प्रशासनिक झन्झट, समय र खर्च बचत गर्न सहयोग पुग्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!