ताप्लेजुङ। फुङलिङ नगरपालिकाले कक्षा १–५ सञ्चालन भएका सामुदायिक विद्यालयमा न्यूनतम २० जना विद्यार्थी नभए विद्यालयको तह एक तह घटाउने व्यवस्था गरेको छ। नगरपालिकाले ‘शिक्षक दरबन्दी मिलान तथा व्यवस्था कार्यविधि, २०८३’ जारी गर्दै विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी व्यवस्थापन गर्ने नीति लागू गरेको हो।
नगर प्रमुख अमिर मादेनका अनुसार आधारभूत तह (कक्षा १–३ तथा १–५) सञ्चालन भएका विद्यालयमा कम्तीमा २० जना विद्यार्थी भए न्यूनतम एक शिक्षक दरबन्दी रहने व्यवस्था गरिएको छ। साथै, आवश्यकताअनुसार विषयगत शिक्षकको समेत व्यवस्थापन गरिने उहाँले बताउनुभयो।
कार्यविधिअनुसार प्रत्येक विद्यालयमा कम्तीमा एक बाल विकास केन्द्र र एक बाल विकास सहयोगी कार्यकर्ता अनिवार्य रूपमा रहनेछन्। ३० जनासम्म विद्यार्थी भएका विद्यालयमा न्यूनतम दुई शिक्षक र ३१ जनाभन्दा बढी विद्यार्थी भएका विद्यालयमा न्यूनतम तीन शिक्षकको व्यवस्था गरिनेछ।
यस्तै, कक्षा १–५ सञ्चालन भएका विद्यालयमा ५१ जना वा सोभन्दा बढी विद्यार्थी भए थप शिक्षक दरबन्दी उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ। कक्षा ६–८ सञ्चालन भएका सामुदायिक विद्यालयमा भने सम्भव भएसम्म चार जना निम्न माध्यमिक तहका शिक्षकको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ।







