ताप्लेजुङ। राष्ट्रिय समाचार समिति (रासस) ताप्लेजुङका जिल्ला संवाददाता तथा इमेज टेलिभिजनका संवाददाता सन्तोष पुर्कुटी सिरीजङ्घा गाउँपालिकाको १९औँ गाउँसभाको दोस्रो बैठकका अवसरमा ‘उत्कृष्ट स्थानीय पत्रकार’ विधाबाट सम्मानित भएका छन्।
गाउँपालिकाले स्थानीय पत्रकारितामार्फत सूचना प्रवाह, जनसरोकारका विषयको उठान तथा गाउँपालिकाको विकास र सुशासनमा पुर्याएको योगदानको कदर गर्दै पुर्कुटीलाई सम्मान तथा नगद ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो।
सम्मान ग्रहणपछि संवाददाता पुर्कुटीले सिरीजङ्घा गाउँपालिका परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस सम्मानले आफ्नो जिम्मेवारी अझ बढाएको बताएका छन्। उनले आगामी दिनमा पनि पत्रकारिताको व्यावसायिक मर्यादा कायम राख्दै गाउँपालिकाको विकास, समृद्धि र जनसरोकारका विषयलाई अझ सशक्त रूपमा उजागर गर्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ४७ वटा संघसंस्था तथा व्यक्तित्वहरू पनि सम्मानित भएका थिए। पुर्कुटीले सबै सम्मानित व्यक्ति तथा संस्थालाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो पत्रकारिता यात्रामा निरन्तर साथ, सहयोग, मार्गदर्शन र हौसला प्रदान गर्ने अग्रज, सहकर्मी, शुभेच्छुक तथा सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।







