ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई मदिरा, चुरोट तथा अन्य सुर्तिजन्य सामग्रीको ओसारपसार, बिक्री–वितरणमा संलग्न हुन प्रतिबन्ध लगाएको छ। गाउँपालिकाले जारी गरेको बालबालिका सम्बन्धी नियमावली मार्फत यस्तो व्यवस्था लागू गरेको हो।
गाउँपालिकाका अनुसार नियमावली राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बालबालिकाको हक, हित, संरक्षण, विकास, सहभागिता तथा सर्वोत्तम हितलाई सुनिश्चित गर्ने उद्देश्यले नियमावली लागू गरिएको बताउनुभयो।
नियमावलीमा गाउँपालिका क्षेत्रभित्र रहेका कुनै पनि विद्यालयको २०० मिटरको दूरीभित्र मदिरा, चुरोट तथा सुर्तिजन्य पदार्थको बिक्री–वितरण र उपभोग गर्न नपाइने व्यवस्था गरिएको छ।
यस्तै, बालबालिकालाई मदिरा, चुरोट, सुर्तिजन्य पदार्थ वा अश्लील साहित्य तथा चलचित्रसँग सम्बन्धित कुनै पनि प्रकारको विज्ञापन, प्रचारप्रसार वा प्रवर्द्धनात्मक गतिविधिमा प्रयोग गर्न समेत निषेध गरिएको छ।
गाउँपालिकाले बालबालिकामैत्री वातावरण निर्माण गर्दै उनीहरूको अधिकार र सुरक्षालाई प्रभावकारी रूपमा सुनिश्चित गर्न नियमावली कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ।







