९ असार, ताप्लेजुङ। पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिको अध्यक्षमा सुरेश लिम्बू सर्वसम्मत रूपमा चयन हुनुभएको छ। दोस्रो चरणको साधारणसभाबाट समितिले नयाँ नेतृत्व चयन गर्दै संगठनात्मक संरचनालाई समेत थप विस्तार गरेको छ।
समितिको साधारणसभा जेठ २९ गते तय गरिए पनि आवश्यक बहुमत सदस्य उपस्थित हुन नसकेपछि सभा स्थगित गरिएको थियो। त्यसपछि कार्यसमितिले निर्धारण गरेको कार्यतालिकाअनुसार सम्पन्न दोस्रो चरणको सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ संरचनाअनुसार समितिमा पहिलो पटक वरिष्ठ उपाध्यक्ष र सहकोषाध्यक्ष पद थप गरिएको छ। वरिष्ठ उपाध्यक्षमा नारायण थापा चयन हुनुभएको छ। ताप्लेजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहनुभएका थापाले यसअघि समितिको उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो। उपाध्यक्षमा शान्ति मादेन चयन हुनुभएको छ। उहाँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहनुभएको छ।
त्यसैगरी सचिवमा लक्ष्मीप्रसाद काफ्ले, कोषाध्यक्षमा मात्रिकाप्रसाद नेपाल तथा सहसचिवमा दिनेश खवास पुनः चयन हुनुभएको छ। नवसिर्जित सहकोषाध्यक्ष पदको जिम्मेवारी तेजबहादुर खत्री भट्टराईले पाउनुभएको छ।
निर्वाचन प्रक्रिया सञ्चालनका लागि समिति सदस्य आनन्द गौतमको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। गौतमले विधानले व्यवस्था गरेको अधिकार प्रयोग गर्दै निर्वाचन प्रक्रिया अघि बढाइएको र सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिनुभयो।
वि.सं. २०४८ सालमा स्थापना भएको यो संस्था पाथीभरा क्षेत्रको संरक्षण, संवर्द्धन र विकासमा नागरिकस्तरबाट सक्रिय रूपमा योगदान पुर्याउँदै आएको छ। समितिले धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको पाथीभरा क्षेत्रको पर्यटन, संस्कृति र वातावरणीय महत्वलाई उजागर गर्दै यसको दिगो विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।







