ताप्लेजुङ। ताप्लेजुङबाट प्रकाशित एकमात्र दैनिक पत्रिका उज्यालो पोष्ट दैनिक का प्रकाशक चन्द्रबहादुर पन्दाक ‘प्रयास’ र सम्पादक खगेन्द्र अधिकारी एकसाथ सम्मानित तथा पुरस्कृत भएका छन्।
सिदिङ्वा गाउँपालिकाले आफ्नो १९औँ बजेट अधिवेशनको अवसरमा पत्रकारिता क्षेत्रमार्फत स्थानीय सरकारलाई थप प्रभावकारी, जनउत्तरदायी र सेवाग्राहीमैत्री बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै दुवै सञ्चारकर्मीलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो।
गाउँपालिका अध्यक्ष मानबहादुर राई का अनुसार, उज्यालो पोष्ट दैनिकले गाउँपालिकाका गतिविधि, योजना तथा सेवा प्रवाहलाई निरन्तर रूपमा जनसमक्ष पुर्याउँदै आएको छ। त्यसले स्थानीय सरकारप्रति नागरिकको पहुँच र विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिएको मूल्याङ्कन गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवा ले खोजमूलक, समीक्षात्मक तथा उत्तरदायी पत्रकारितामार्फत स्थानीय तहलाई पारदर्शी र जनमैत्री बनाउन पन्दाक र अधिकारीले खेलेको भूमिकाको कदरस्वरूप सम्मान गरिएको जानकारी दिनुभयो।
१९औँ गाउँसभा अधिवेशनका अवसरमा गाउँपालिकाले पत्रकारद्वयसँगै उत्कृष्ट कर्मचारी, उत्कृष्ट कृषक, उत्कृष्ट पशुपालक, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने पर्यटन अभियन्ताहरूलाई पनि सम्मान तथा पुरस्कृत गरेको छ।
स्थानीय विकास र सुशासनमा सञ्चारमाध्यमको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै गरिएको यो सम्मानले पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र उत्साहित बनाउने अपेक्षा गरिएको छ।







