५ असार, ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ स्थित भानुजन माध्यमिक विद्यालय मा सञ्चालन भएको एसईई ग्रेडवृद्धि परीक्षामा गणित विषयको अपूरो प्रश्नपत्र वितरण गरिएको आरोपपछि जिल्ला प्रशासन कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई को संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई र फुङ्लिङ नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाश पौडेल सदस्य रहेका छन्।

कञ्चनजंघा बोर्डिङ स्कुलका कक्षा १० का विद्यार्थीहरूले असार ३ गते सञ्चालन भएको गणित विषयको ग्रेडवृद्धि परीक्षामा पूरा प्रश्न समावेश नभएको प्रश्नपत्र वितरण गरिएको भन्दै प्रशासनमा सामूहिक निवेदन दर्ता गरेका थिए। उनीहरूका अनुसार परीक्षा सुरु भएपछि मात्र प्रश्नपत्रमा प्रश्न नै अपूरो रहेको थाहा भएको थियो। परीक्षा केन्द्रमा तत्काल जानकारी गराउँदा पनि समस्या समाधान नभएको र परीक्षार्थीहरू अन्योलमै परीक्षा दिन बाध्य भएको गुनासो गरिएको छ।

कारबाहीका लागि दिइएको निवेदन:

उक्त परीक्षा केन्द्रको केन्द्राध्यक्ष किशोर राई, जो भानुजन माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन्, उनको भूमिकामाथि समेत प्रश्न उठेको छ। विद्यार्थीहरूले परीक्षा व्यवस्थापनमा भएको कमजोरीबारे तत्काल सुनुवाइ नभएको तथा जिम्मेवार पक्षबाट आवश्यक संवेदनशीलता नदेखिएको आरोप लगाएका छन्।

विद्यार्थीहरूले यसअघि नियमित एसईई परीक्षाका क्रममा विज्ञान विषयको प्रश्नपत्र ढिलो वितरण भएको र अतिरिक्त समयसमेत नदिइएको विषय पनि निवेदनमा उल्लेख गरेका छन्। लगातार परीक्षा व्यवस्थापनमा कमजोरी दोहोरिँदा समेत सम्बन्धित निकायबाट प्रभावकारी सुधार नदेखिएको उनीहरूको भनाइ छ।

घटनाले जिल्लाको शैक्षिक क्षेत्रमा तरंग पैदा गरेको छ। निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न तथा परीक्षार्थीको भविष्यमा असर नपर्ने गरी आवश्यक निर्णय लिन विद्यार्थी तथा अभिभावकले माग गरेका छन्।

छानबिन समितिले घटनाका सबै पक्षसँग छलफल गरी प्रतिवेदन पेश गर्ने तयारी गरिरहेको जनाएको छ। अब समितिको निष्कर्षले परीक्षा व्यवस्थापनमा भएको कमजोरी र जिम्मेवारीको वास्तविक चित्र उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रश्नपत्र:

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!