ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न सङ्कायका उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ। आर्थिक वर्ष २०८१/०८२ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १२ जना छात्रछात्रालाई प्रशंसा–पत्र तथा जनही रु. ५,००० नगद प्रदान गरी सम्मान गरिएको हो।

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) को ५७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेवि संघ ताप्लेजुङ जिल्ला कार्य समितिले उक्त सम्मान कार्यक्रम सम्पन्न गरेको हो। समितिका अध्यक्ष लोकेश लिम्बूका अनुसार क्याम्पसमा सञ्चालित शिक्षाशास्त्र, व्यवस्थापन तथा मानविकी सङ्कायअन्तर्गत प्रथमदेखि चौथो वर्षसम्म उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई छनोट गरी सम्मान गरिएको हो।

शिक्षाशास्त्र सङ्कायतर्फ प्रथम वर्षमा बृटनी थेवे (३२१), द्वितीय वर्षमा प्रतिमा सेन्दाङ (३१०), तृतीय वर्षमा पुजा लिम्बू (२४९) र चतुर्थ वर्षमा डिल्ली बहादुर खाती (३५४) उत्कृष्ट घोषित भएका छन्। त्यस्तै व्यवस्थापन सङ्कायअन्तर्गत प्रथम वर्षमा जीवन सिं साउद (२६५), द्वितीय वर्षमा ङिमा शेर्पा (३७८), तृतीय वर्षमा जमुना बराल (२७०) र चतुर्थ वर्षमा निर्मला पौडेल (३८०) उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित भएका छन्।

मानविकी सङ्कायतर्फ प्रथम वर्षमा सुजता दाहाल (२९४), द्वितीय वर्षमा विविका केदेम (३३४), तृतीय वर्षमा खिम बहादुर पुन (३३३) र चतुर्थ वर्षमा पुनम मावो लिम्बू (३४१) उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित भएका छन्।

कार्यक्रममा नेपाली काँग्रेस ताप्लेजुङका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर) तथा क्याम्पस प्रमुख सजन पौडेल लगायतका अतिथिहरूले सम्मानित विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पुरस्कार तथा प्रशंसा–पत्र हस्तान्तरण गरेका थिए।

यस्ता प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूमा अध्ययनप्रति थप प्रेरणा जागृत हुने विश्वास लिइएको छ। साथै, आगामी दिनहरूमा पनि उत्कृष्टता अभिवृद्धि गर्न यस्ता सम्मान तथा प्रोत्साहनका कार्यक्रमहरूलाई निरन्तरता दिने आयोजक पक्षले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!