ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले पाथिभरा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत करिब १२८ जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।
पाथिभरा बहुमुखी क्याम्पस मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको यो छात्रवृत्तिले आर्थिक अभावका कारण उच्च शिक्षा लिनबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको अध्यक्ष युगबिर हाङ्गामले बताउनुभयो।
क्याम्पस व्यवस्थापनका अनुसार दक्ष जनशक्ति उत्पादनका लागि शिक्षामा लगानी अपरिहार्य रहेको र धेरै विद्यार्थीहरू आर्थिक समस्याका कारण उच्च शिक्षा अध्ययन गर्न नसक्ने अवस्था रहेको छ। यस्तो अवस्थामा गाउँपालिकाले लिएको यो पहललाई अत्यन्त सकारात्मक रूपमा लिइएको छ।
क्याम्पस परिवारले विद्यालय तहसम्म मात्र नभई उच्च शिक्षासम्म लगानी गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै स्थानीय सरकारको यस कदमलाई सराहनीय कार्यका रूपमा उल्लेख गरेको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजम ले गाउँपालिकाप्रति धन्यवाद व्यक्त गर्दै यस्तो कार्यक्रमले शिक्षा क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।







