ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न निर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गरिने भएको छ। मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठ को कार्यालयमा बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो।
जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन भइसकेपछि मतगणनाको कार्य सुरु गर्ने सहमति भएको जनाइएको छ। हिमाली क्षेत्रका चार मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत शुक्रबार बिहान सदरमुकाम ल्याइएपछि मतपेटिका सङ्कलन प्रक्रिया पूरा भएको हो।
मुख्य निर्वाचन अधिकृत श्रेष्ठका अनुसार शुक्रबार बिहान करिब तीन बजेसम्म चार केन्द्रबाहेक अन्य सबै स्थानका मतपेटिका प्राप्त भइसकेका थिए। ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदाता रहेकोमा ४६ हजार ४७४ मत खसेको छ, जुन करिब ५१ प्रतिशत हो। खसेको मतमध्ये २५ हजार ३९९ पुरुष र २१ हजार ७५ महिला मतदाता रहेका छन्।
जिल्लामा ८० मतदान स्थलअन्तर्गत १२७ मतदान केन्द्र तोकिएका थिए। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ का अनुसार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको तथा मतदानस्थलहरूमा आवश्यक सुरक्षा व्यवस्था कडा बनाइएको छ।







